कलाकार सागर लम्साल पक्राउ

फिल्म । कलाकार सागर लम्साललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बूढानीलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिएका छन् ।

कलाकार लम्सालमाथि अमेरिकामा बस्दै आएकी एक युवतीले बलात्कारको आरोप लगाएकी छन् । युवतीका अनुसार करिब एक वर्षअघि अमेरिकामै लम्सालले आफूलाई बलात्कार गरेका हुन् । यस घटनापछि लम्सालमाथि अनुसन्धान गर्न चौतर्फी दबाब परेको थियो ।

घटनाबारे सार्वजनिक रूपमा प्रस्ट पार्दै ती युवतीले भनिन्, ‘कुराकानी हुँदै जाँदा सागर लम्सालले ‘तिमी बसेको ठाउँ हेरौँ न त’ भन्नुभयो। मैले १० वर्षभन्दा बढी समयदेखि चिन्ने, दाइ मानेको व्यक्तिलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेँ। अपार्टमेन्टमा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको विषय निस्कियो। मैले आफ्नो संघर्ष सबै साझा गरेँ, रोएँ, भनेँ, कति गाह्रो भइरहेको छ भनेर। तर जसलाई म दाइ मान्थेँ र हाम्रो परिवारले आफ्नै जस्तो ठानेको थियो, त्यही व्यक्ति यस्तो निस्किएछ। म बलात्कृत भएँ।’ प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्