फिल्म । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको आयोजना तथा महिला चलचित्रकर्मी सशक्तीकरण समितिको संयोजनमा सञ्चालित ‘चलचित्रमा नारी’ महिला चलचित्र महोत्सव सम्पन्न भएको छ। बोर्डको हलमा आयोजित समापन समारोहमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याएका १० जना महिला फिल्मकर्मीलाई ‘चलचित्रमा नारी सम्मान’ प्रदान गरिएको थियो ।
समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भइन् । विशेष अतिथिका रूपमा अग्रज कलाकार बसुन्धरा भुसाल र चैत्यदेवी सिंहको उपस्थिति रहेको थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका पदाधिकारी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा चलचित्रकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रत्येक सम्मानित व्यक्तित्वलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानित हुनेहरूमा गौरी मल्ल, ऋचा शर्मा, अञ्जना बराइली, शारदा गिरी, रीना मोक्तान, प्रज्ञा जोशी, देविका बन्दना, गीता अधिकारी, लक्ष्मी श्रेष्ठ र गौमाया गुरुङ रहेका छन् ।
महिला कलाकारहरूले नेपाली नौमति बाजासहित प्रस्तुति दिँदै कार्यक्रमलाई उल्लासमय बनाएका थिए । देविका बन्दना, बिन्दु परियार, समीक्षा दाहाललगायत कलाकारहरूले गीत प्रस्तुत गर्दै समारोहलाई सांगीतिक उचाइ दिएका थिए । सम्मान, संस्कृति र संगीत एकै मञ्चमा मिसिएको दृश्यले कार्यक्रमलाई भावुक, जीवन्त र स्मरणीय बनाएको थियो ।
यसैबीच, कार्यक्रममा फिल्म ‘कुमारी’का कलाकारहरूको मुहारचित्र हस्तान्तरण तथा ललितकला कलाकारहरूलाई प्रमाणपत्र वितरणसमेत गरिएको थियो । यसले महोत्सवलाई केवल सम्मान समारोहमा सीमित नराखी नेपाली फिल्म क्षेत्रको कलात्मक र सांस्कृतिक पक्षसँग जोडिएको बहुआयामिक उत्सवका रूपमा स्थापित गरेको देखिएको छ ।
कार्यक्रमको अन्त्यमा सम्मानित व्यक्तित्वका तर्फबाट मन्तव्य राखिनुका साथै प्रमुख अतिथि लक्ष्मीकुमारी बस्नेतले सम्बोधन गरिन् । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी.ले धन्यवाद ज्ञापन गर्दै प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरे ।
महोत्सवको समापनले नेपाली फिल्म क्षेत्रमा महिलाको योगदान अब केवल स्मरणमा सीमित नभई संस्थागत रूपमा सम्मानित हुन थालेको सन्देश दिएको छ । अभिनय, गायन, पत्रकारिता, निर्माण, सिर्जना र सांस्कृतिक नेतृत्वका विभिन्न क्षेत्रमा महिलाले पुर्याएको योगदानलाई राज्यस्तरबाट गरिएको यस सम्मानले नेपाली फिल्म उद्योगलाई अझ समावेशी र प्रेरणादायी दिशातर्फ अघि बढाएको अनुभूति गराएको छ ।










