फिल्म । भारतका चर्चित निर्देशक, निर्माता तथा कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुने भएका छन्। निफका अध्यक्ष केपी पाठकका अनुसार सिप्पी उद्घाटन कार्यक्रममा सहभागी हुन नेपाल आउने निश्चित भएको हो। महोत्सवका क्रममा उनले भारतीय फिल्म उद्योगको यात्रा, आफ्ना अनुभव तथा फिल्म निर्माणसम्बन्धी ज्ञान नेपाली फिल्मकर्मी र दर्शकमाझ साझा गर्ने कार्यक्रमसमेत तय गरिएको छ।
अध्यक्ष पाठकले नेपाली र भारतीय फिल्मकर्मीबीच सहकार्य विस्तार गर्ने उद्देश्यले सिप्पीलाई निम्त्याइएको जानकारी दिए। ‘भारतीय फिल्म मेकिङको अनुभवले नेपाली फिल्मकर्मीलाई बलिउड बजारबारे बुझ्न सहयोग पुग्ने विश्वासका साथ उहाँलाई निम्त्याएका हौं’, उनले भने।
रमेश सिप्पीले दर्जनभन्दा बढी फिल्म निर्देशन गरिसकेका छन्। बलिउडमा ऐतिहासिक सफलताका रूपमा लिइने फिल्म शोले उनको निर्देशनमा बनेको हो। पछिल्लो समय उनले निर्देशन गरेको फिल्म सिम्ला मिर्ची सन् २०२० मा प्रदर्शनमा आएको थियो।
उनले आफ्नो निर्देशनमा बनेका फिल्महरूमा शाहरुख खान, अमिताभ बच्चन, सञ्जय दत्त, ज्याकी श्रफ, मिथुन चक्रवर्ती, ऋषि कपूर, दिलीप कुमार, शशी कपूर, धर्मेन्द्र र राजेश खन्नाजस्ता चर्चित कलाकारसँग काम गरिसकेका छन्।
नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव चैत १९ गतेदेखि काठमाडौंमा आयोजना हुँदैछ। आयोजकका अनुसार महोत्सवमा ४० देशका ८८ फिल्म प्रदर्शन गरिनुका साथै विभिन्न विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमसमेत आयोजना गरिनेछन्।










