‘जेरी अन टप’ भारतभर प्रदर्शनमा

फिल्म । अभिनेता अनमोल केसीको करिअरकै सर्वाधिक व्यापार गर्न सफल नेपाली फिल्म ‘जेरी अन टप’ भारतभर प्रदर्शनमा आएको छ । भारतमा रहेका सिनेमाप्रेमी, नेपाली समुदाय तथा नेपाली भाषी दर्शकलाई लक्षित गर्दै आज फेब्रुअरी २७ अर्थात् शुक्रबारदेखि भारतका विभिन्न सहरमा एकसाथ रिलिज गरिएको निर्माण पक्षले जनाएको छ ।

फिल्म दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिम्पोङ, सिलिगुरी र कोलकातासहित नेपाली भाषी दर्शकको उल्लेख्य बसोबास रहेका अन्य स्थानमा पनि प्रदर्शनमा आउनेछ। भारतका विभिन्न फिल्म चेनहरूले अग्रिम बुकिङ खुला गरिसकेको जनाइएको छ ।

रिलिजको पूर्वसन्ध्यामा फेब्रुअरी २६ मा गान्तोकमा प्रिमियर शो आयोजना गरिएको थियो । प्रिमियरमा अभिनेता अनमोल केसी, अभिनेता भुवन केसी, अभिनेत्री जसिता गुरुङसहित फिल्मका कास्ट एन्ड क्रू सहभागी भए । कार्यक्रममा गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाको विशेष प्रस्तुति रहेको निर्माता सरोज न्यौपानेले जानकारी दिए ।

सगरमाथा आरोहणको साहसिक कथामा आधारित ‘जेरी अन टप’ ले प्रेम, सम्बन्ध र युवापुस्ताको भावनात्मक यात्रालाई केन्द्रमा राखेको छ । फिल्मका निर्देशक सुयोग गुरुङ हुन् । भारतका विभिन्न सहरमा एकसाथ प्रदर्शन हुँदा नेपाली फिल्मको अन्तर्राष्ट्रियबजार विस्तारमा अर्थपूर्ण भूमिका खेल्ने अपेक्षा निर्माण टिमको छ । फिल्ममा अनमोल केसीसँगै आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी र उषा खड्गीको प्रमुख भूमिका रहेको छ।

कमेन्ट गर्नुहोस्