‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा

फिल्म । ‘माया भनेकै यस्तो होला’ शिर्षकमा फिल्म निर्माण घोषणा गरिएको छ । आइतबार महाशिवरात्रिको अवसर पारेर घोषणा गरिएको उक्त फिल्मलाई रेखा थापाले निर्देशन गर्नेछिन् ।

फिल्ममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा देखिनेछन् । निर्माण पक्षले फिल्मको घोषणासँगै दुईवटा फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ ।

फिल्मको शीर्षक ‘माया भनेकै यस्तो होला’ ले प्रेमको परिभाषा खोज्ने प्रयास गरेको देखिन्छ । युवापुस्ताको प्रेम र बुढ्यौली अवस्थाको सहारालाई एउटै फिल्ममा समेटेर सबै वर्गका दर्शकलाई आकर्षित गर्ने उद्देश्य निर्माण पक्षको रहेको बुझिन्छ । फिल्ममा लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायत कलाकारको पनि अभिनय रहनेछ । हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेका छन् ।

सुदीप बराल फिल्मका डीओपी रहनेछन् भने अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म कोअर्डिनेटर, प्रशान्त सिवाकोटी संगीतकार, सुजेनी मल्ल ड्रेस डिजाइनर, प्रिया कार्की मेकअप र सुमन तिवारी प्रोडक्सनमा रहेका छन् । निर्माण पक्षका अनुसार फिल्मको छायांकन फागुनको दोस्रो साताबाट सुरु हुनेछ । फिल्मलाई आगामी वर्षको तीजको अवसरमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

कमेन्ट गर्नुहोस्