पार्श्व गायनबाट अलग हुने अरिजितको घोषणा

सङ्गीत । भारतीय गायक अरिजित सिंहको पछिल्लो अभिव्यक्तिले सङ्गीत प्रेमीलाई दु:खी बनाएको छ । उनले आफ्नो सामाजिक सञ्जालमार्फत प्लेब्याक गायनबाट अलग हुने घोषणा गरेका छन् । ‘सबैलाई नयाँ वर्षको शुभकामना । वर्षौंसम्म श्रोताका रूपमा मलाई यति धेरै माया दिनुभएकोमा धन्यवाद । म खुशीका साथ घोषणा गर्न चाहन्छु कि अबदेखि म प्लेब्याक गायकका रूपमा कुनै पनि नयाँ काम लिने छैन । यो यात्रालाई यहीँ टुंग्याउँदै छु । यो एक अद्भुत यात्रा थियो’, उनले लेखेका छन् ।

यसपछि उहाँले अर्को सन्देश लेख्दै उनले थपे, ‘भगवान मप्रति धेरै दयालु हुनुहुन्थ्यो । म राम्रो संगीतको प्रशंसक हुँ । अब भविष्यमा सानो कलाकारका रूपमा आफ्नै काम गर्दै, अझ धेरै सिक्ने र सिर्जना गर्नेछु । तपाईंहरूको समर्थनका लागि फेरि धन्यवाद ।’

यद्यपि, अरिजित सिंहले प्लेब्याक गायनबाट पूर्ण रूपमा टाढा नहुने स्पष्ट पार्नुभएको छ । उहाँले केही बाँकी रहेका प्रतिबद्धता पूरा गर्ने बताउँदै यस वर्ष केही गीतहरू सार्वजनिक हुन सक्ने जानकारी दिए।

‘मसँग केही पुराना प्रतिबद्धता बाँकी छन्, ती पूरा गर्नेछु । त्यसैले यस वर्ष केही नयाँ गीतहरू आउन सक्छन्’, उनले लेखेका छन् । आफ्नो निर्णयको कारणबारे स्पष्ट पार्दै अरिजितले थपे, ‘यसको एउटै कारण छैन । धेरै कारण छन् र म यो निर्णय लामो समयदेखि लिन खोज्दै थिएँ । अन्ततः हिम्मत जुटाएँ । एउटा सरल कारण के हो भने म चाँडै बोर हुन्छु । त्यसैले एउटै गीतलाई पनि फरकफरक ढंगले गाउने गर्छु । सत्य के हो भने म बोर भएँ । अब बाँच्नका लागि नयाँ किसिमको संगीत गर्न चाहन्छु ।’

उनले आगामी दिनमा नयाँ प्रतिभा उदाउने र आफूलाई प्रेरणा दिने अपेक्षा पनि व्यक्त गरे । साथै, कुनै भावनात्मक खेल खेलेको आरोपलाई अस्वीकार गर्दै भने, ‘म कसैको भावनासँग खेल्न चाहँदिनँ ।’

अरिजितले बलिउड प्लेब्याक गायनबाट अलग भए पनि संगीतसँगको नाता अझ गहिरो रहने स्पष्ट पारे । उनले भारतीय शास्त्रीय संगीततर्फ फर्कने योजना सार्वजनिक गर्दै भने, ‘म फेरि भारतीय शास्त्रीय संगीतमा फर्किन चाहन्छु । म फेरि सुरु गर्न चाहन्छु । आफ्नै संगीत बनाउनेछु, जब तयार हुन्छु, तब प्रस्तुत गर्नेछु ।’ अन्त्यमा उहाँले हल्का हास्य शैलीमा लेख्नुभयो, ‘अब आउनेछ मजा!!’

अरिजितले करिब एक दशकअघि मोहित सूरी निर्देशित फिल्म ‘आशिकी २’ बाट व्यापक लोकप्रियता पाएका थिए । त्यसपछि ‘ये जवानी है दिवानी’, ‘तमाशा’, ‘ए दिल है मुश्किल’, ‘एयरलिफ्ट’लगायत दर्जनौं सफल फिल्मका हिट गीतहरूमा उनको स्वर सुनिएको छ । लामो समयसम्म बलिउडका प्रायः सबै मुख्यधारका फिल्ममा अरिजितको आवाज अपरिहार्यजस्तै बनेको थियो ।

कमेन्ट गर्नुहोस्