फिल्म । लगातारको वर्षाका कारण प्रदर्शनको सुरुवाती दुई दिन अपेक्षाअनुसार दर्शकको साथ पाउन नसकेको फिल्म ‘बाः एक योद्धा’ले मौसम खुलेसँगै गति लिन थालेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मका आइतबार मध्याह्नपछिका अधिकांश शोमा ८० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको निर्माण पक्षले जनाएको छ।
कतिपय शो हाउसफुलसमेत भएका छन्। मौसम सफा हुँदै गएपछि दर्शकको उपस्थिति बढेको निर्देशक हरि लम्सालले बताए। ‘आजबाट फिल्मले गति समातेको छ। मौसममा सुधार देखिन सुरु गरेपछि हाम्रो फिल्मका शो पनि हाउसफुल हुन थालेका छन्। हामीलाई दुई दिन वर्षाको असर गर्यो। तर आजबाट फिल्म हेर्न दर्शकमा देखिएको उत्साहले हामी पनि उत्साही भएका छौँ’, लम्सालले भने।
उनका अनुसार फिल्म हेरेका अधिकांश दर्शकले कथाले भावनात्मक बनाएको र आफू, आफन्त तथा छिमेकीले देखे–भोगेकै विषयसँग जोडिएकाले फिल्मसँग कनेक्ट भएको प्रतिक्रिया दिएका छन्।
दर्शकले अभिभावकले आफ्ना सन्तानलाई फिल्म देखाउनुपर्ने प्रतिक्रिया दिएको पनि लम्सालले बताए। उनका अनुसार अधिकार खोज्ने तर दायित्व बिर्सने सन्तानका लागि ‘बाः एक योद्धा’ हेर्नुपर्ने प्रतिक्रिया दर्शकबाट आएको छ।
“दर्शकले यो फिल्म अभिभावकले आफ्ना सन्तानलाई देखाउने वातावरण सिर्जना गर्नुपर्यो भनेर भनिरहनुभएको छ। दर्शकको यो आग्रह र सन्देश मिडियामार्फत धेरै दर्शकसम्म पुगोस् भन्ने चाहन्छौँ,” निर्माता लम्सालले भने।
‘बाः एक योद्धा’को कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ। सन्तानको इच्छा पूरा गर्न अभिभावकले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले भोग्ने दुःखलाई पनि फिल्मले कथामा समेटेको छ।
फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकार मुख्य भूमिकामा छन्।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। फिल्मको कथा तथा पटकथा पनि लम्सालले नै लेखेका हुन्। वसन्त लम्साल निर्माता रहेको फिल्ममा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह-निर्माता छन्।











