फिल्म । अभिनेता सौगात मल्लले अभिनय गर्नुभएको फिल्म ‘भाइरल गोर्खे’ ले प्रदर्शन अवधिमा रु ३४ लाख ५३ हजार ७६० आम्दानी गरेको छ । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको हो । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ले प्रदर्शनरत नेपाली फिल्महरूको माघ १० गते शनिबारसम्मको कारोबार विवरण सोमबार सार्वजनिक गरेको जनाएको छ ।
सामाजिक सञ्जालको बढ्दो प्रभावबीच विश्वभर ‘भाइरल’ बन्ने होडमा लागेकाहरूलाई केन्द्रमा राखेर तयार गरिएको फिल्म ‘भाइरल गोर्खे’ माघ १ गतेदेखि प्रदर्शनमा आएको हो । निगम श्रेष्ठको निर्देशनमा बनेको फिल्ममा अभिनेता सौगात मल्लसँगै अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र पत्रकार ऋषि धमलालगायत कलाकारको अभिनय रहेको छ ।
निर्माण पक्षका अनुसार फिल्मका हालसम्म १० हजार ६०५ वटा टिकट बिक्री भएका छन् । बोर्डले पछिल्ला केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी तथा विदेशी फिल्महरूको व्यावसायिक विवरण प्रत्येक सोमबार सार्वजनिक गर्दै आएको छ ।










