फिल्म । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन तथा विलक्षण क्रिएसन प्रा.लि.को आयोजनामा ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’को १४औँ संस्करण आजदेखि काठमाडौंमा सुरु भएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित महोत्सवको उद्घाटन बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली तथा महोत्सव निर्देशक डब्बु क्षेत्रीले संयुक्त रूपमा गरेका हुन् ।
महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन समारोहमा कुलपति हार्तम्छालीले महोत्सवले विश्वभरका कलाकर्मीबीच ज्ञान आदानप्रदानको अवसर सिर्जना गरेको बताए । कुलपति हार्तम्छालीले ललितकला प्रज्ञा प्रतिष्ठानको तर्फबाट महोत्सवस्थलमा ‘फिल्म, संस्कृति र प्रकृति’ शीर्षकमा आयोजित चित्रकला प्रदर्शनीमा सहभागी हुँदै त्यसबारे उपस्थित फिल्मकर्मीलाई जानकारी गराएका थिए ।
महोत्सव निर्देशक डब्बु क्षेत्रीले महोत्सवमा नेपालसहित २० देशका ४३ वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए । उनका अनुसार महोत्सवमा फिल्म प्रदर्शनसँगै अन्तरक्रिया कार्यक्रम, नृत्य कार्यशाला, कला प्रदर्शनी तथा मास्टर क्लाससमेत सञ्चालन गरिनेछ । महोत्सवमा १० जना विदेशी फिल्मकर्मीको सहभागिता रहेको छ ।
नेपाली कथानक फिल्मतर्फ मिलन चाम्स निर्देशित ‘अञ्जिला’, सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’, ऋषी लामिछाने निर्देशित ‘माग्ने राजा’, दीपकप्रसाद आचार्य निर्देशित ‘परान’ तथा नर प्रधान निर्देशित ‘यो मन त मेरो नेपाली हो’ छनोट भएका छन् । वृत्तचित्रतर्फ भीमलाल श्रेष्ठ निर्देशित ‘अरिंगाल म्यान’, रमेश खड्का निर्देशित ‘डान्सिङ इन फायर’ र निशा मानन्धर निर्देशित ‘अ बडी नट माइन्ड’ छनोटमा परेका छन् ।
नेपालबाहेक अफ्रिकी तथा अन्तर्राष्ट्रिय समूहअन्तर्गत कथानक फिल्मतर्फ बंगलादेशको ‘मेमोरी अफ ग्लुमी मनसुन’ र कोट डी आइभोरीको ‘साइलेन्स मोर्टेल’ प्रतिस्पर्धामा छन् । वृत्तचित्रतर्फ युक्रेनको ‘द स्केड्युल अफ फाइटिङ टु लर्न’, एस्टोनियाको ‘अटिस्ट अफ सर्वाइभल’ र जर्मनीको ‘गल्र्स डोन्ट प्ले स्पोर्ट्स’ छनोट भएका छन् । महोत्सवको पहिलो दिन दीपकप्रसाद आचार्य निर्देशित फिल्म ‘परान’ प्रदर्शन गरिएको थियो ।











