फिल्म । आरआर फिल्म्सका सञ्चालक नेपाली फिल्म वितरक रोहित कट्टेल फिल्म ‘मिरमिरे’ मा कार्यकारी निर्माता बनेका हुन् । लामो समयदेखि फिल्म वितरण गर्दै आएका कट्टेलले फिल्म यस फिल्मको निर्माणमा जोडिनुको कारण ‘मिरमिरे’को कथालाई बताएका छन् । निर्देशक यम शेर्पाले सुनाएको कथा मन परेपछि आफू निर्माणमा सहभागी हुन तयार भएको उनको भनाइ छ ।
कट्टेल भन्छन्, ‘निर्माणका हिसाबले ‘मिरमिरे’ मेरो तेस्रो फिल्म हो । निर्देशक यम शेर्पाले कथा सुनाउँदा नै मलाई मन परेको थियो । राम्रो कथामा फिल्म बनाउने प्रस्ताव आएपछि सहकार्य नगर्ने कारण देखिनँ, त्यसैले लगानी गरेको हुँ ।’
बाबु र छोरीबीचको सम्बन्धमा आधारित कथाले आफूलाई गहिरो रूपमा छोएको कट्टेलको भनाइ छ । ‘यो हामी सबै नेपालीको घरघरको कथा हो । धेरैले भोगेको, देखेको कथा भएकाले सुन्नासाथ मन परेको हो’, उनले भने ।
राम्रो कथामा आधारित फिल्म निर्माणका लागि आफू सधैँ तयार रहेको बताउँदै उनले कहिले वितरण त कहिले निर्माणमार्फत दर्शकमाझ गुणस्तरीय फिल्म ल्याउनु आफ्नो दायित्व भएको उल्लेख गरे ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’ माघ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको यस फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ ।
फिल्मका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् भने सह निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर रहेका छन् । कार्यकारी निर्माताको जिम्मेवारी आरआर फिल्म्सका सञ्चालकसमेत रहेका रोहित कट्टेलले सम्हालेका छन् । फिल्ममा वीरेन्द्र शाही लाइन प्रोड्युसर, सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।











