युट्युबमा आयो ‘लट्ठक’

फिल्म । नेपाली ग्रामीण परिवेश, सामाजिक यथार्थ र व्यङ्ग्यात्मक हास्यलाई समेटेर निर्माण गरिएको वेब सिरिज ‘लट्ठक’ का सबै एपिसोड युट्युबमार्फत सार्वजनिक भएका छन् । विश्व बजारमा लोकप्रिय सिट्कम कमेडी शैलीलाई नेपाली माटोसँग सुहाउँदो रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको यो सिरिजले दर्शकलाई मनोरञ्जनसँगै समसामयिक सामाजिक विषयमा व्यङ्ग्यात्मक चेतना दिन खोजेको छ ।

सागर ज्ञवालीको परिकल्पना तथा निर्देशनमा बनेको ‘लट्ठक’ निर्देशन क्षेत्रमा उनका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । निर्देशक ज्ञवालीका अनुसार दर्शकको राम्रो प्रतिक्रिया आएमा ‘लट्ठक’ को दोस्रो सिजन पनि निर्माण गरिनेछ । साथै, छिट्टै आफ्नै निर्देशनमा नयाँ फिल्म घोषणा गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिए ।

सिरिजमा सुभाष गजुरेल, अभय राज बराल, शकु शाह, कविता आले, रोकीत कार्की, रणजीत राणा, रोहित खत्री, शिला खनाल, जीवन जङ्ग थापा, दिवस विक्रम बोहरा, मानिषा भुजेल, इन्द्रजित चौलागाईं, लक्ष्मण चौलागाईं, उमिशा पाण्डे, सरिता भण्डारी, रचना पौडेल, गीता खड्का, श्रेया दुलाल र केबी पौडेललगायत कलाकारको अभिनय रहेको छ।

करिब २५ वर्षअघि ‘श्रीराम बाजे’का रूपमा परिचित अभिनेता सुभाष गजुरेल यस सिरिजमा ‘स्वाहा बाजे’को भूमिकामा देखिएका छन् । ‘होस्टेल रिटर्न्स’बाट चर्चित बनेका अभय राज बरालले पनि यस सिरिजमार्फत दर्शकको थप माया पाउने अपेक्षा गरिएको छ । अभिनेत्री शकु शाहका लागि ‘लट्ठक’ अभिनय यात्राको नयाँ मोड साबित हुने विश्वास निर्माण पक्षको छ।

कमेन्ट गर्नुहोस्