नेपालमा कस्तो छ ‘धुरन्धर’ को कमाइ ?

फिल्म । रणवीर सिंह अभिनित जासूस फिल्म ‘धुरन्धर’ ले नेपाली बक्सअफिसमा उल्लेखनीय व्यापार गरिरहेको छ । हालको कमाइको गति कायम रहे फिल्मले नेपालमा १० करोड रुपैयाँ ग्रसको आँकडा पार गर्ने देखिएको छ । ‘सिनेपाः बक्सअफिस’ मा रहेको तथ्यांकअनुसार अनुसार बिहीबार दिउँसोसम्म फिल्मले नेपालमा ८ करोड ५० लाख रुपैयाँ ग्रस कमाइ गरिसकेको छ । बलियो ‘वर्ड अफ माउथ’ का कारण क्रिसमस तथा आगामी सप्ताहन्तमा पनि फिल्मको कमाइ उत्साहजनक रहने अपेक्षा गरिएको छ ।

व्यापारिक सफलतासँगै ‘धुरन्धर’ ले भारतमा समेत नयाँ कीर्तिमान बनाएको छ । सन् २०२५ मा नेपालमा थोरै विदेशी फिल्मले मात्र १० करोड ग्रसको आँकडा पार गर्न सकेका छन् । यही सन्दर्भमा ‘धुरन्धर’ पनि उक्त उपलब्धितर्फ तीव्र गतिमा अघि बढिरहेको देखिन्छ ।

लामो समयपछि कुनै हिन्दी फिल्मले नेपाली बजारमा यति प्रभावशाली व्यापार गर्न सफल भएको यो पहिलो उदाहरण मानिएको छ । प्रदर्शनको सुरुआतदेखि नै दर्शकको बलियो उपस्थितिका कारण फिल्मले उच्च कमाइ कायम राखेको देखिन्छ । फिल्म ‘धुरन्धर’ ले विश्वव्यापी बक्स अफिसमा तहल्का मच्चाएको छ ।

फिल्मका कलाकार र गीतहरू निरन्तर चर्चामा छन् । विशेषगरी, ‘रहमान डकैत’ को भूमिका निर्वाह गरिरहेका अक्षय खन्ना को ‘हुक स्टेप’ दर्शकहरूमाझ निकै भाइरल भइरहेको छ । फिल्ममा रणवीरसँगै अक्षय खन्ना, संजय दत्त, अर्जुन रामपाल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई आदित्य धरले निर्देशन तथा निर्माण गरेका हुन् ।

एक्सन र ड्रामाले भरिएको कथावस्तु, लोकप्रिय कलाकारहरूको अभिनय र प्रचारप्रसारले फिल्मप्रति दर्शकको चासो बढाएको विश्लेषण गरिएको छ । बलियो ओपनिङसँगै ‘धुरन्धर’ ले आगामी दिनमा पनि नेपाली बक्सअफिसमा मजबुत पकड बनाइराख्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्