फिल्म । नयाँ नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ गएको शुक्रबारदेखि प्रदर्शनरत छ । नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित रहेको अभिनेता रमेश उप्रेतीले बताएका छन् । उनका अनुसार फिल्मको मुख्य उद्देश्य दर्शकलाई मनोरञ्जन प्रदान गर्नु हो, तर मनोरञ्जनसँगै समाजमा विद्यमान विसंगति, बेथिति, भ्रष्टाचार र अनियमितताविरुद्ध सन्देश पनि दिन खोजिएको छ ।
‘फिल्मको मूल उद्देश्य मनोरञ्जन नै हो । मनोरञ्जनसँगै समसामयिक विषयवस्तु, घरघरका कथा, वडा-वडाका कहानी, देशमा देखिएका बेथिति, विसंगति, भ्रष्टाचार र अनियमितताको समिश्रण नै ‘झरीपछिको इन्द्रेणी’ हो । समाजमा हुनु नपर्ने यस्ता प्रवृत्तिप्रति सचेत गराउने सन्देश पनि यसमा छ’, अभिनेता उप्रेतीले भने ।
उनका अनुसार फिल्ममा अहिलेको समाजको वास्तविकता र युवापुस्तामा देखिएको अन्योलसमेत समेटिएको छ । अभिनेता उप्रेतीले यस फिल्ममा आफूले निर्वाह गरेको भूमिका अघिल्ला फिल्मभन्दा फरक रहेको पनि बताए । उनले फिल्मलाई फ्यामिली जनराको सामाजिक फिल्म को रूपमा वर्णन गर्दै यसले हरेक वर्ग र पुस्तालाई प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे । निर्माण टिमले ‘झरीपछिको इन्द्रेणी’ ले मनोरञ्जनसँगै सामाजिक यथार्थको अनुभूति गराउँदै दर्शकमा आशा र सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएको छ ।
फिल्ममा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय रहेको छ । निर्देशक अर्जुन घिमिरे स्वयंको कथा रहेको फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । बाल कलाकारका रूपमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ । फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् भने छायाङ्कन बुद्ध थापाले गरेका छन् । अनिशा सेन्दाङ लिम्बू फिल्मकी निर्मात्री हुन् ।
फिल्मका सह-निर्मातामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की रहेका छन् भने लाइन प्रोड्युसरका रूपमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन् ।











