महोत्सवमा ‘आ बाट आमा’ प्रचार गर्दै विपना र पल

फिल्म । नेपाली फिल्म ‘आ बाट आमा’को प्रचारप्रसारका लागि अभिनेता पल शाह र अभिनेत्री विपना थापा महोत्सव पुगेका छन् । ‘सृष्टिकै पहिलो नाम’ गीतमा अभिनेता पल शाह र अभिनेत्री विपना थापाको अभिनय रहेको छ । सुदूरपश्चिम महोत्सवमा गाउँ-गाउँबाट हजारौँ दर्शकको उल्लेखनीय उपस्थिति थियो । पल र विपनालाई देखेपछि दर्शकहरूले ‘आइ लभ यु पल शाह’ र ‘आइ लभ यु विपना थापा’ भन्दै हुटिङ गरेका थिए । दर्शकको उत्साह र मायाले अभिनेत्री थापा अत्यन्तै खुशी देखिएकी थिइन् । हजारौँ दर्शकमाझ उपस्थित पल र विपनाले फिल्मको प्रचारमा कुनै कसर बाँकी नराख्ने संकेत गरेका छन् ।

फिल्म ‘आ बाट आमा’को निर्देशन चन्द्र पन्तले गरेका हुन् । निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको संगीत रहेको छ। गीतका भिडियोमा गम्भीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी छ भने छायांकन नवराज उप्रेतीले गरेका हुन् ।

अभिमन्यू निरवीले लेखेको फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको सहकार्य रहेको छ । फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माता करण सिंह रसाली हुन् । ट्रेलर र टिजर साहिल खानले सम्पादन गरेका छन्।

नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ । यसअघि निर्देशक चन्द्र पन्तले नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ निर्देशन गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्