बुढाथोकीले दिए एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी

देश । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा अनेरास्ववियु बागमती प्रदेशका निवर्तमान अध्यक्ष लालबहादुर बुढाथोकी (एल.बी.) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्दै औपचारिक रूपमा चुनावी प्रतिस्पर्धामा होमिएका छन् । बागमती प्रदेश भूगोलअन्तर्गत ४० वर्षमुनिका युवामध्ये प्रभावशाली र संगठित नेताका रूपमा परिचित बुढाथोकी लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् । उनले २०५७ सालदेखि संगठित रूपमा नेकपा (एमाले) को राजनीतिमा प्रवेश गर्दै अनेरास्ववियुको पालिका, जिल्ला हुँदै बागमती प्रदेश अध्यक्षसम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका छन् ।

अनेरास्ववियु बागमती प्रदेश अध्यक्षको कार्यकालमा उनले संगठनलाई मजबुत बनाउँदै स्ववियु निर्वाचनमा बागमती प्रदेशकै पहिलो जित हासिल गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । संगठन विस्तार, नेतृत्व विकास र अनुशासित कार्यशैलीका कारण उनी विद्यार्थी आन्दोलनभित्र मात्र नभई पार्टीभित्र पनि भरोसायोग्य नेताका रूपमा स्थापित भएका छन् ।

पार्टीलाई संकट परेको प्रत्येक क्षणमा उनले प्रतिबद्ध र सक्रिय भूमिकामा उभिएर संगठन जोगाउने प्रयास गर्दै आएका छन् । नेकपा विभाजनको कठिन समय होस् वा पछिल्ला विभिन्न राजनीतिक घटनाक्रमका दौरान पार्टी संकटमा पर्दा उनले निरन्तर पार्टी हितलाई प्राथमिकतामा राख्दै भूमिका निर्वाह गरेका थिए । यिनै योगदान, अनुभव र युवा ऊर्जाको मूल्यांकनस्वरूप यसपटक नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा डेब्यू गर्ने बलियो सम्भावना बनेको भन्दै राजनीतिक वृत्तमा चर्चा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्