फिल्म । निर्देशक दिनेश राउतको निर्देशनमा तयार भएको प्रेमकथानक फिल्म ‘कुमारी’ को नयाँ प्रेमिल पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक राउतले फिल्मको प्रदर्शन नजिकिदै गर्दा डेब्यु तथा मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतार रहेको पोस्टर सार्वजनिक गरेका हुन् । फिल्म यी दुईकै प्रेममा आउने उतारचढावमा केन्द्रीत छ ।
सामाजिक संदेशसँगै जेनजी पुस्ताको प्रेम देखाईएको फिल्मको सार्वजनिक भएको पहिलो गीत ‘कता छौ मेरो फूल…’ लोकप्रिय भईसकेको छ । गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ को स्वरमा रहेको यो गीत युट्युब र टिकटकमा विशेषगरी जेनजी पुस्तामाझ लोकप्रिय बन्दै गएको छ।
फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ । ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथात्मक फिल्मबाट परिचित निर्देशक राउत पछिल्ला वर्षमा ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयमा केन्द्रित फिल्म निर्देशन गरे पनि ‘कुमारी’मार्फत पुनः प्रेमकथामा फर्किएका हुन् ।










