चितवनबाट सुरु भयो ‘राम नाम सत्य’ फिल्मको छायांकन

फिल्म । यो वर्ष प्रतिक्षित फिल्मको रुपमा हेरिएको ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट औपचारिक रूपमा सुरु गरिएको छ । निर्देशक माइकल चन्दका अनुसार, फिल्मको झन्डै ८० प्रतिशत छायांकन चितवनमै गरिनेछ भने बाँकी भाग मुस्ताङमा खिचिनेछ । उनका अनुसार, फिल्मको ४० दिनको सेड्युल चितवनमा र थप १० दिनको सेड्युल मुस्ताङमा रहनेछ । छायांकनको शुभारम्भ चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्ननगरस्थित जिरौनाको धर्मधाम कृष्ण मन्दिरमा गरे ।

लाइन प्रोड्यूसर राजेन्द्र आचार्यका अनुसार, ‘राम नाम सत्य’को छायांकनले चितवनलाई फिल्म सिटीको रूपमा चिनाउन र पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्नेछ । फिल्म यही वर्षको चैत २७ गतेबाट प्रदर्शनमा ल्याउने तयारी गरिएको छ । ‘राम नाम सत्य’मा विराज भट्ट, सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आशा पौडेल, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीलगायतका कलाकारले अभिनय गर्नेछन् । साथै, फिल्ममा राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह र पुजन लामिछाने विशेष भूमिकामा देखिनेछन् ।

उपेन्द्र शाही र स्वेता बिमली निर्माता रहेका यस फिल्ममा किशोर भट्ट र राजेन्द्र भट्ट कार्यकारी निर्माता हुन् । मोती कार्की क्रियटिभ निर्माताको रूपमा छन् भने मानकृष्ण महर्जनले डीओपी (क्यामेरा) र श्री श्रेष्ठले एक्सन निर्देशन गरेका छन् ।

फिल्मका गीतमा अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारीको संगीत रहेको छ। विजय बस्यालले पब्लिसिटी डिजाइन तयार पारेका छन् भने विदुषी थापाले प्रोडक्सन डिजाइन संभालेकी छन् । ‘राम नाम सत्य’ एक्सन, सस्पेन्स र प्रेमको जनरामा निर्माण भइरहेको फिल्म हो । निर्देशक माइकल चन्दले यसलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्