फिल्म । हालै वार विधामा फिल्म ‘गोर्खा वारियर’ निर्देशन तथा निर्माण गरेका निर्देशक मिलन चाम्सले छायांकनको क्रममा हतियारको सहजीकरण गरिदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललाई आग्रह गरेका छन् । चलचित्र विकास बोर्डको समन्यवमा मन्त्रालयमा आयोजना गरिएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा निर्देशक चाम्सले वार विधा वा द्वन्द्वका लागि हतियार जरुरी रहेको जानकारी गराउँदै चाम्सले काठको बन्दुक लिएर छायांकन गर्दा त्यो स्वाभाविक नदेखिने बताए ।
‘काठको बन्दुक समाउँदा पनि पक्राउ पर्ने स्थिति अहिले छ,’ उनले भने, ‘एक्सन फिल्मका लागि बन्दुक जरुरी हो ।’ आफूले संसारलाई गोर्खाली सेनाको कथा सुनाउन चाहेको तर, यसका लागि कसरी हतियार प्रयोग गर्ने भन्ने प्रश्न उनले राखे ।
‘मलाई गोर्खाली आर्मीको कथा भनेर संसारलाई सुनाउन मन छ । हतियारको प्रयोग कसरी गर्ने ?’ उनले भने, ‘काठको बन्दुक देखाउँदा जुम गर्दा त्यसलाई दर्शकले पत्याउँदैनन् ।’
सो अवसरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले तत्कालीन गृहमन्त्री र गृहसचिवलाई यसबारे कुरा राखे पनि सरकार ढलेकाले त्यो सम्भव नभएको बताएका थिए । हतियारको सहजीकरण सम्बन्धी बुँदा नै राखेर बोर्डले विहीबार सञ्चार मन्त्रालयलाई पत्र नै लेखेको छ । हतियार लिएर हिँड्दा, सेना-प्रहरीको पोशाक प्रयोग गर्दा पक्राउ परेका, स्पष्टीकरण सोधिएका र निर्माताले हैरानी खेपेका घटना पटक-पटक भएका छन् ।








