सङ्गीत । वरिष्ठ गायिका अञ्जना गुरुङलाई बुधबार काठमाडौंमा आयोजित विशेष कार्यक्रमबीच ‘स्वरमाधुरी’ मिलाप सम्मान अर्पण गरिएको छ । मिलाप मासिक पत्रिकाको कात्तिक अंकको कभर स्टोरीका रूपमा उहाँलाई यो सम्मान प्रदान गरिएको हो ।
निर्देशक माधव खरेलले सहजीकरण गरेको कार्यक्रममा गीतसंगीत तथा समाजका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । समारोहमा स्वागत मन्तव्य राख्दै मिलाप फाउन्डेसन अध्यक्ष गीता अधिकारीले मिलापले विगत १६ वर्षदेखि निरन्तर मासिक पत्रिका प्रकाशन गर्दै आएको बताउँदै यसले अन्य पुस्तकहरू पनि प्रकाशित गरेको जानकारी दिइन् । सम्पादक कृष्ण भुसालले मिलापले १ सय ५० भन्दा बढी विशेष अंकहरू व्यक्तित्व तथा समसामयिक विषयमा प्रकाशित गरेको उल्लेख गर्दै कात्तिक अंकमा अञ्जना गुरुङलाई ‘स्वरमाधुरी’ कभर स्टोरीका रूपमा प्रस्तुत गरिएको बताए । ‘समाजका आर्थिक, राजनीतिकसँगै भाषा, साहित्य, कला र संस्कृतिलाई मिलापमा विशेष स्थान दिँदै आएका छौँ । यस अंकमा वरिष्ठ गायिका अञ्जनाका विषयमा विशेष सामग्री समावेश छ,’ उनले भने ।
कार्यक्रममा आफ्नो धारणा राख्दै भावुक बनेकी गायिका गुरुङले चितवनमा जन्म, नेपालगञ्जमा स्कूली शिक्षा, काठमाडौंको बसाइ र हाल अमेरिकामा रहेर पनि निरन्तर गीतसंगीतमा संलग्न रहेको बताइन् । ‘गाउँदै जाँदा एक हजारभन्दा बढी गीत श्रोता-दर्शकमाझ ल्याएकी छु । सयौं गीतलाई मन पराएर मलाई भाग्यमानी बनाएका छन् । मिलापले मेरो कार्यलाई विस्तृत रूपमा प्रस्तुत गरी यो सम्मान अर्पण गरेकोमा कृतज्ञ छु,’ उनले भनिन् । ‘गीतसंगीत मेरो जीवन हो । श्रोता-दर्शकको मायाले यहाँसम्म आइपुगेकी हुँ ।’
उपस्थितहरूको आग्रहमा उनले चर्चित गीत ‘आँखैमा राख्छु मेरो देश’ प्रत्यक्ष गाएकी थिइन् ।चितवनमा जन्मिएकी अञ्जना गुरुङ नेपाली सुगम संगीत तथा चलचित्र क्षेत्रमा चर्चाको शिखरमा रहेकी गायिका हुन् । ‘आँखैमा राख्छु मेरो देश’, ‘म त काली सुन्दरी’, ‘बदनाम भए म तिम्रै कारणले’, ‘आँधी सारी तिम्रो माया’, ‘ठ्याक्कै भेटौंला’, ‘नजर नजरको’, ‘जसले मुटु चुडेर लग्यो’, ‘माईला रोधी घरमा (कौडा)’, ‘मान चाहे नमान तिमी मेरो हौ’ लगायतका सयौं गीत श्रोता-दर्शकका प्रिय छन् ।
कात्तिक २१ गते शुक्रबार अञ्जनाको एकल गायन कार्यक्रम हुँदैछ । नेपाली सांगीतिक क्षेत्रमा आदर्श जोडीको छवि बनाएका कन्हैया-अञ्जनाले ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ स्थापना गरी योगदान पुर्याउने संगीतकर्मीलाई सम्मान गर्दै आएका छन् । पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ । यसवर्ष २०८२ को पुरस्कार गायक कमल विक ‘निर्मोही’लाई प्रदान गरिने भएको छ । यसअघि गायिका चन्द्रकला शाह (२०७८), गीतकार विश्व बल्लभ (२०७९), वाद्यवादक कृष्ण गन्धर्व (२०८०) र लोकगायक रेशम थापा (२०८१) सम्मानित भएका थिए ।मिलापको कात्तिक अंकले अञ्जना गुरुङको नेपाली गीतसंगीतमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उहाँलाई ‘स्वरमाधुरी’ उपाधिसहित कभर स्टोरीका रूपमा प्रस्तुत गरेको छ ।










