फिल्म । अभिनेता दयाहाङ राई रङ्गकर्मी हुँदै फिल्ममा उदाएका अभिनेता हुन् । अहिले उनी निर्माता र निर्देशकको रोजाईको अग्रपंक्तिमा पर्छन् । तर, प्राय फिल्ममा उनले गाउँले परिवेशकै भूमिका निर्वाह गर्ने गरेका पाइन्छ । गाउँले परिवेशमा दया फिट देखिने भएकाले पनि उनलाई निर्देशकले उस्तै भूमिका प्रस्ताव गर्छन् ।
तर, गएको भाइटीकाको अवसरमा कात्तिक ६ देखि प्रदर्शनरत फिल्म ‘वरिष्ठ बलराम’ मा दया धनाढ्य अवतारमा प्रस्तुत छन् । गाउँले आवरणमा देखिएका दया यसपटक धनाढ्य झैँ आकर्षक पहिरनमा प्रस्तुत भएका छन् ।
सुरेन्द्र पौडेलद्वारा निर्देशित यो फिल्म वृषभ सिद्धी इन्टरटेनमेन्ट र आन्भी फिल्म्सको सहकार्यमा बनेको हो । दयासँगै विजय बराल, समृद्धि अर्याल, पशुपति राईलगायतका कलाकार छन् । कथा र सम्पादन पौडेलको हो, पटकथा महेश दवाडीले लेखेका छन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की छन् । मनकृष्ण महर्जनको छायांकन, प्रशान्त सिवाकोटीको संगीत र सम्राट बस्नेतको एक्सन रहेको फिल्म काठमाडौंमा डीसीएन र बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ ।










