फिल्म । तिहारको भाइटिकाको अवसर पारेर आजबाट नेपाली फिल्म ‘वरिष्ठ बलराम’ देशभरका हलमा प्रदर्शनमा आएको छ । दयाहाङ राई र विजय बराल अभिनीत यो फिल्मले पहिलो दिनदेखि नै दर्शकको उत्साहजनक प्रतिक्रिया पाएको छ ।
दयाहाङ र विजयको घम्साघम्सीपूर्ण भूमिकालाई हेर्न बिहानैदेखि उल्लेख्य सङ्ख्यामा दर्शक हलमा देखिएका थिए । पहिलो शोबाटै फिल्मले सकारात्मक समीक्षा प्राप्त गरेको छ। दर्शकहरूले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि समेटिएको बताएका छन् । विशेष गरी प्राकृतिक स्रोतको दोहन र स्थापित तथा उदाउँदो व्यक्तिबीचको सङ्घर्षको कथालाई ‘माटो सुहाउँदो’ भन्दै दर्शकले मन पराएका छन् ।
फिल्मबाट प्राप्त सकारात्मक प्रतिक्रियाले निर्माण पक्षलाई उत्साहित बनाएको छ । अभिनेता विजय बराल लगायत कलाकारहरू बिहानैदेखि हलमा पुगेर दर्शकसँग अन्तरक्रिया गरिरहेका छन् । निर्माण टिमले फिल्मले राम्रो व्यापार गर्नेमा ढुक्क भएको जनाएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘वरिष्ठ बलराम’ वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य हो ।
फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारको अभिनय छ । निर्देशककै कथा र सम्पादन रहेको यो फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् ।
निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् भने कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसर राम विष्ट रहनुभएको छ । मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहेको छ ।










