फिल्म । चलचित्र विकास बोर्डले आज एक विशेष कार्यक्रममा १ सय ७८ जना फिल्मकर्मीलाई परिचयपत्र वितरण गरेको छ । स्वदेशी फिल्म क्षेत्रमा २० वर्षभन्दा बढी समयदेखि सक्रिय ती फिल्मकर्मीहरूलाई बोर्डले सम्मानपूर्वक परिचयपत्र प्रदान गरेको हो ।
कार्यक्रमको अध्यक्षता बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका थिए भने सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरी निरौला विशेष अतिथिका रूपमा उपस्थित थिए । यसअघि ३० वर्षभन्दा बढी समय फिल्म क्षेत्रमा योगदान पुर्याएका कलाकार, निर्देशक, प्राविधिक र अन्य व्यक्तिहरूलाई ‘विशिष्ट फिल्मकर्मी परिचयपत्र’ प्रदान गरिएको थियो ।
बोर्डले चालु आर्थिक वर्षदेखि विशिष्ट फिल्मकर्मीका लागि वार्षिक रु. १ लाख ५० हजारको स्वास्थ्य उपचार बीमा र अन्य फिल्मकर्मीका लागि रु. ७५ हजारको स्वास्थ्य बीमा सुविधा सुरु गरेको छ ।
अध्यक्ष डीसीले फिल्मकर्मीलाई परिचयपत्र वितरण गर्नु पेशागत पहिचान र अन्तर्राष्ट्रिय मान्यता दिलाउने महत्त्वपूर्ण कदम भएको बताए । उनले फिल्मकर्मीको पहिचान, सामाजिक सुरक्षा र प्रतिष्ठा संरक्षणका लागि बोर्ड प्रतिबद्ध रहेको उल्लेख गरे ।










