सङ्गीत । खोटाङ कलाकार समाजको आयोजनामा सङ्गीतकार, गायक तथा लेखक प्राज्ञ शान्तिराम राईको एकल साङ्गीतिक साँझ आगामी मङ्सिर १३ गते काठमाडौँमा हुने भएको छ । समाजका अध्यक्ष रूपकुमार राईले यो कार्यक्रम समाजले पहिलो पटक ‘श्रष्टा सम्मान’ अन्तर्गत आयोजना गर्न लागेको जानकारी दिए ।
काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष राईले खोटाङका अग्रज कलाकारहरूको सम्मानमा नियमित रूपमा वार्षिक एकल साङ्गीतिक साँझ आयोजना गर्ने उद्देश्य रहेको बताए । उक्त कार्यक्रममा प्राज्ञ शान्तिराम राईले आफ्नो सङ्घर्ष र नेपाली सङ्गीत क्षेत्रमा गरेको योगदानको कदर गर्दै यो कार्यक्रम आयोजना गरेकोमा खोटाङ कलाकार समाजलाई धन्यवाद दिए ।
प्राज्ञ राईले २०४६ सालमा रेडियो नेपालको लोकगीततर्फ स्वर परीक्षा उत्तीर्ण गरी ३६ वर्षदेखि सङ्गीत सृजनामा सक्रिय छन् । हालसम्म उनले १,५०० भन्दा बढी सङ्गीत सृजना गरेका छन् । उनको एकल साँझमा ‘तिमी तारे भीर म त लहरा’, ‘धोका दियौ तिमीले’, ‘छालहरू ओ छालहरू’, ‘आईडी काडैले’, ‘ए पहराकी फूल’ जस्ता सदाबहार गीतहरू प्रस्तुत हुनेछन् ।
कार्यक्रममा दीप श्रेष्ठ, सुक्मित गुरुङ, पवित्रा सुब्बा, राजेशपायल राई, मेलिना राईलगायत नयाँ र पुराना पुस्ताका गायक-गायिकाहरूले शान्तिरामका सङ्गीतबद्ध गीतहरू प्रस्तुत गर्नेछन् । खोटाङ कलाकार समाजले २०७७ मा स्थापना भएयता विभिन्न कार्यक्रम गर्दै आएको छ । २०७९ मा प्रज्ञा भवन, कमलादीमा ‘खोटाङ साङ्गीतिक साँझ’ आयोजना गरी १०० गायक-गायिका र १०० नृत्यङ्गनाले प्रस्तुति दिएका थिए ।
साथै, २०८० मा खोटाङका १० वटै पालिकामा गायन र नृत्य प्रतियोगिता आयोजना गरी ‘पालिका प्रतिभा’ कार्यक्रम सम्पन्न गरेको थियो । ‘मुस्कुराउँछ सधैंभरि मेरो खोटाङ’ गीत सार्वजनिकखोटाङ कलाकार समाजद्वारा निर्मित ‘मुस्कुराउँछ सधैंभरि मेरो खोटाङ’ बोलको गीत पनि सार्वजनिक गरिएको छ । १११ जना कलाकारको स्वर रहेको यो गीतमा टङ्क भट्टराईको शब्द, वरिष्ठ सङ्गीतकार महेश खड्काको सङ्गीत, देबेश राईको एरेन्ज र लिम्दुमि क्रिएसन रेकर्डिङ स्टुडियोको सहभागिता छ ।
म्युजिक भिडियोको निर्देशन युवा निर्देशक राजेश पुमा राईले गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य प्रायोजन र खोटेहाङ गाउँपालिका तथा ऐँसेलुखर्क गाउँपालिकाको आर्थिक सहयोगमा यो गीत निर्माण भएको समाजका महासचिव पार्वन राई ‘राई बुढा’ले बताए ।











