‘मिष्टर एण्ड मिस इस्टपोल २०८२’को उपाधि नुर र विदुशीलाई

सौन्दर्य । सिएस इन्टरटेनमेन्ट नेपाल र इस्टपोल सेकेन्डरी स्कूलको सहकार्यमा राजधानीमा आयोजित पहिलो संस्करणको ‘मिष्टर एण्ड मिस इस्टपोल २०८२’को उपाधि मिष्टरतर्फ नुर दाहाल र मिसतर्फ विदुशी शाहले जितेका छन् । विजेताले एक वर्षको छात्रवृत्तिसहित विभिन्न पुरस्कार प्राप्त गरे । प्रतियोगितामा मिस्टरतर्फ डेरियस महतो र मिसतर्फ छोंगी लामा फस्टरनरअप, मिस्टरतर्फ ह्यान्सन लामा र मिसतर्फ बियांका रोशन पौडेल सेकेन्ड रनरअप घोषित भए ।

फस्टरनरअपले ६ महिना र सेकेन्ड रनरअपले ३ महिनाको छात्रवृत्ति पाए।यस्तै, मिस्टरतर्फ नमन्य लोप्चन र मिसतर्फ कृशा राउत ‘पब्लिक च्वाइस विनर’ तथा मिस्टरतर्फ डेसमण्ड घिसिङ र मिसतर्फ लछेन घिसिङ ‘भ्युअर्स च्वाइस विनर’ चुनिए । पब्लिक च्वाइस विनरले १० हजार र भ्युअर्स च्वाइस विनरले ५ हजार रुपैयाँ पुरस्कार जिते ।

प्रमुख निर्णायक नेपालकी प्रथम नायिका भुवन चन्दसहित मोटिभेसनल स्पिकर अशोककुमार दाहाल, ‘मिस नेपाल २०२०’ नम्रता श्रेष्ठ, गायक लाक्पा शेर्पा, राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष बमबहादुर बानियाँ, लेखक भीष्मराज फुलारा र पत्रकार तथा कराँते राष्ट्रिय रेफ्री करन तामाङ निर्णायक मण्डलमा थिए ।

कार्यक्रममा नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङ, फिल्म लेखक तथा निर्देशक दिवाकर भण्डारी ‘बिचारी काका’ र न्यू लाइफ नेपालका संस्थापक अध्यक्ष राजेन्द्रकुमार खनाललाई सम्मान गरियो । प्रतियोगिता संयोजक कलाकार छिरिङ शेर्पाले विद्यार्थीको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गर्न यो प्रतियोगिता आयोजना गरिएको बताइन् । प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य बिष्णु पुडासैनीले यस्ता कार्यक्रमले नयाँ पुस्तामा सकारात्मक सोच जगाउनुका साथै उनीहरूलाई सफल भविष्यतर्फ अघि बढ्न मार्गदर्शन गर्ने बताइन् ।

कमेन्ट गर्नुहोस्