फिल्म । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले थलिएको नेपाली फिल्मको बजार बिस्तारै उठ्दैछ । हल संचालन भएसँगै नयाँ फिल्म रिलिज हुने घोषणा भइरहेका छन् । केहि दिन अगाडी मात्र ‘लप्पन छप्पन २’ शिवरात्रीमा प्रदर्शन हुने घोषणा भएको थियो । यसै बीच आउँदो माघेसंक्रान्तिलाई लक्षित गर्दै माघ १ गतेबाट फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउने भएको छ ।
अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको डेब्यु अभिनय रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को प्रस्तुतकर्ता अभिनेता शिव श्रेष्ठ हुन् । यसमा शिव , कविता र शक्तिसँगै प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायको अभिनय रहेको छ ।
फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा यशोधा राई र दिनेश दर्शनाधारीको लगानी छ । खुम तामाङ, सुनिल कटुवाल, रामनारायण शाह, दिनेश थापामगर, तारा तुलाधर फिल्ममा सह–निर्माताको रुपमा छन् । दीपेश सापकोटा निर्देशित फिल्मलाई उपत्यकामा बिके फिल्म्स र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।










