फिल्म । नेपाली फिल्म ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । यसमा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएको निर्माता विनोद पौडेलले जानकारी दिएका छन् । ‘हामीले कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका छौँ’, निर्माता पौडेलले भने ।
सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् । उनले प्रदर्शन मिति आगामी भदौ २७ गते रिलिज हुने घोषणा गरेका छन् । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा फिल्मले भन्नेछ । हिन्दी र नेपाली भाषामा रिलिज हुने फिल्मलाई सेभेन सिज सिनेमाले निर्माण र सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो उनको डेव्यु निर्देशकीय फिल्म हो ।
मुकेश खनालको लेखन रहेको फिल्मको क्रियटिभ निर्देशक मदन थापा हुन् । यसमा शरद महतोको डिओपी रहने छ । पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्मका रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् ।











