फिल्म । भदौ दोस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको नेपाली फिल्म ‘मालती मंगले’को कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ । पटकथा तथा संवाद लेखक संयोग गुरागाईंको संयोजनमा सञ्चालित कार्यशालामा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश जंग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायतका कलाकार सहभागी थिए ।
कार्यशालामा अभिनेता विजय बरालले फिल्मले नेपाली समाजको यथार्थ कथालाई रोचक ढंगले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे । ‘यो कार्यशालाले पात्रलाई नजिकबाट बुझ्न ठूलो सहयोग गरेको छ । दर्शकले आफ्नै कथा पर्दामा देखेजस्तो अनुभव गर्नेछन्’, उनले भने । अभिनेत्री वर्षा राउतले कार्यशालाले पात्रको गहिराइमा पुग्न सहयोग गरेको बताइन् ।
प्रकु पाण्डेयले निर्देशन गर्ने यो फिल्मको कथा उनैले लेखेका हुन् भने पटकथा र संवाद संयोग गुरागाईंले तयार पारेका छन् । छायांकन तनहुँ र स्याङ्जाका विभिन्न स्थानमा हुने कार्यकारी निर्माता सागर ज्ञवालीले बताए ।
रानी म्युजिक इन्टरनेशनल प्रा.लि. र युनी इन्टरटेनमेन्टको सहकार्यमा बन्न लागेको यो फिल्मका निर्माता गायक रामकृष्ण ढकाल हुन् । सहनिर्मातामा रविन श्रेष्ठ र बाबु सुवेदी छन् । छायांकन निर्देशक महेश पौडेल, सम्पादक रोमी तण्डुकार, रंग संयोजक कृष्ण भण्डारी, गीतकारहरू राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र संगीतकारहरू हरि लम्साल, राजनराज सिवाकोटी, उज्ज्वल सागर छन् । निर्देशक पाण्डेयका अनुसार ‘मालती मंगले’ पारिवारिक प्रेमकथामा आधारित फिल्म हो ।








