फिल्म । पछिल्लो समय ‘माग्ने राजा’ को उपनामले परिचित बन्नुभएका अभिनेता केदार घिमिरेले फिल्म रिलिज नजिकिदै गर्दा विद्यार्थी भेटघाट गरेका छन् । काठमाडौंका विभिन्न कलेज र कार्यक्रमहरूमा पुगेर प्रचारप्रसार गर्ने क्रममा मंगलवार फिल्मको टोली चुच्चेपाटीस्थित मनासलु स्कुल तथा कलेजमा पुगेर प्रचारप्रसार गरेको छ ।
कार्यक्रममा फिल्मका मुख्य अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ र निर्देशक ऋषि लामिछाने सहभागी थिए । उनीहरूले विद्यार्थीहरूलाई फिल्म हेर्न अनुरोध गरे । यसका साथै, माग्ने बुढाले ‘म त सुतेर उठेको पैसामा’ बोलको गीतमा विद्यार्थीहरूसँग नृत्य समेत गरेका थिए । केही दिनअघि मात्रै सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको यो फिल्म हरेक उमेर समूहका दर्शकले हेर्न सक्नेछन् । मंगलबारबाट यसको अग्रिम टिकट बुकिङ पनि खुला गरिएको छ । फिल्मले सुरुवाती चरणमा राम्रो शो पाएको छ । निर्माण टोलीले बुधबार साँझसम्म देशभरका अधिकांश मल्टिप्लेक्स र सिंगल स्क्रिनमा अग्रिम बुकिङ खुल्ने अपेक्षा गरेको छ ।
ऋषि लामिछानेको निर्देशनमा बनेको यो फिल्म मुनाल घिमिरेले निर्माण गरेका हुन् । फिल्ममा केदार प्रसाद घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देल, लगायतका कलाकारहरूको अभिनय रहेको छ । यसमा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका छ ।
‘माग्ने राजा’को कथा, पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाले लेखेका हुन् भने दीपक शर्मा र बाबुल गिरीले संगीत दिएका छन् । नरेन्द्र मैनालीले खिचेको यो फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।












