‘३६ को आँकडा’ मा निरुता

फिल्म । सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्म ‘३६ को आँकडा’ मा अभिनय गर्न नायिका निरुता सिंह नेपाल आइपुगेकी छिन् । आइतबार राति मुम्बईबाट काठमाडौं आएकी निरुताले पत्रकारहरूसँग कुरा गर्दै आफू उत्साहित रहेको बताइन् ।

‘अब म कहीँ जाँदिनँ । म निरन्तर नेपाली फिल्ममा काम गर्छु । बीचमा मलाई कोरोना भयो, जसले गर्दा फिल्ममा काम गर्न सकिनँ । अब भने म कतै जान्नँ’, निरुताले भनिन् । उनले नेपाली फिल्मबाट टाढा रहन नसक्ने स्पष्ट पारिन् । बीचमा केही फिल्मबाट प्रस्ताव आए पनि विभिन्न कारणले काम गर्न नपाएको उनले बताइन् ।

फिल्ममा निरुताको भूमिका अहिलेसम्म खुलाइएको छैन । निर्देशक सविर श्रेष्ठले पनि उनको भूमिका हाललाई गोप्य राखिएको बताए । निरुतालाई छनोट गर्नुको कारणबारे सविर भन्छन्,‘मैले सहायक निर्देशकका रूपमा निरुता दिदीसँग केही फिल्ममा काम गरेको थिएँ । तर, निर्देशक भएपछि उहाँसँग काम गर्ने अवसर पाएको थिइनँ । यो फिल्ममा विशेष भूमिकाका लागि निरुता दिदी नै चाहिन्थ्यो, त्यसैले हामीले उहाँलाई आग्रह गरेका हौँ ।’

यो फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्कालगायतका कलाकारको पनि अभिनय रहनेछ । रेखा थापा र निरुता सिंहले फिल्म ‘दुई पल’ पछि एकसाथ पर्दा साझेदार गरेका छैनन् । अब भने यी दुई स्टार नायिकाले ‘३६ को आँकडा’ मा सँगै काम गर्नेछन् । नायिका सिंहले ‘दाल भात तरकारी’ पछि कुनै नयाँ फिल्ममा काम गरेकी थिइनन् । अब उनी सोमबारदेखि छायांकन सुरु हुने यो फिल्मको तयारीमा जुटेकी छिन् ।

कमेन्ट गर्नुहोस्