फिल्म । नयाँ फिल्म ‘अभिमन्यु: च्याप्टर–१’ को ‘लड्की गोरी’ नामक गीत सार्वजनिक भएको छ । यो गीत विशेष गरी भोजपुरी शैली र लवजमा तयार पारिएको छ । गीतमा प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको शब्द, सङ्गीत र स्वर रहेको छ । यसको सङ्गीत संयोजन विषम आचार्यले गरेका हुन् भने जुना सुन्दासले यसमा आकर्षक आइटम डान्स प्रस्तुत गरेकी छन् । गीतको कोरियोग्राफी रोहन विश्वकर्माले गरेका छन्।
गीतमा भोजपुरी शैली र लवज प्रयोग गरिएको भए पनि यसको मुख्य भाषा भने नेपाली नै हो । यसमा भोजपुरी गीतमा जस्तै नृत्य र कोरियोग्राफी देख्न सकिन्छ । गीत र भिडियोमा युवायुवतीबीचको आपसी चाहनालाई देखाइएको छ । फिल्मको कथावस्तु तराईको परिवेशमा आधारित भएकाले त्यही क्षेत्रमा प्रचलित भोजपुरी शैलीको गीत बनाइएको निर्माण पक्षले जनाएको छ। यो एक डान्सिङ नम्बर हो ।
‘अभिमन्यु: च्याप्टर–१’ भदौ २७ गते नेपालभरका हलहरूमा रिलिज हुँदैछ । यसको हिन्दी संस्करण भने असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा प्रदर्शन हुने निर्माता विनोद पौडेलले बताएका छन् । यो फिल्मले पैसाको प्रलोभनमा परेर समस्याको चक्रव्यूहमा फस्ने र त्यसबाट बाहिर निस्कन सङ्घर्ष गर्ने एक व्यक्तिको कथा प्रस्तुत गर्ने बताइएको छ ।
फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यस फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका हुन्, जुन उनको डेब्यु निर्देशन हो । यसको लेखन मुकेश खनालले गरेका छन् भने मदन थापा क्रिएटिभ निर्देशक हुन् ।
फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता हुन् । यसका कार्यकारी निर्माताहरूमा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।












