फिल्म । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना भाइरस (कोभिड १९) अहिले विश्वका अधिकांस देशमा महामारी बनिसकेको छ । यसको संक्रमणलाई रोक्न अधिकांस देशले लकडाउन गरेर सामाजिक दुरी कायम गरिरहेका छन् । यसबाट मनोरंजन क्षेत्र पनि उत्तिकै ग्रसित छ । छायाँकन नहुँदा यतिबेला प्राविधिक बेरोजगार बनेका छन् भने हल पनि खाली छ । अवस्था सामान्य भएता पनि यो क्षेत्रलाई पहिलेको अवस्थामा आइपुग्न सहज भने छैन ।
कोरोनाबाट अति प्रभावित व्यवसाय बनेको चलचित्र क्षेत्रलाई सरकारले भने यस वर्षको आर्थिक बजेटमा खासै समेट्न सकेन । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा मौलिक फिल्मलाई प्रोत्साहित गर्ने, सातै प्रदेशमा छायाँकन स्थल बनाउने र कलाकार संघको भवन निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरे पनि कोरोनाका कारण समस्यामा रहेको फिल्मी क्षेत्रका कुनै कुरालाई सम्बोधन गरेन ।
हल सञ्चालक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले बजेटमा हललाई उपेक्षा गरिएको भन्दै असन्तुष्टि जनाएको छ । संघका निर्वतमान अध्यक्ष प्रदीप कुमार उदयले फिल्म क्षेत्रलाई अन्य व्यवसायलाई जत्ति छुटको दायरामा नराखेकोमा आफू अचम्मित भएको जनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत यसक्षेत्रलाई प्राथमिकतामा नराखे हलको चाबी बुझाउने पनि चेतावनी दिएका छन् । फिल्म क्षेत्रलाई अगाडी बढाउन सरकारले प्राथमिकतामा नराखे फिल्म क्षेत्रसँग सम्बन्धित धेरै बेरोजगार हुने र यो क्षेत्र नै तहसनहस हुने उनको बुझाइ छ ।










