सौन्दर्य । पृथ्वीया थापा बिबाहित महिलाहरुको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्न अमेरिकातर्फ लागेकी छन् । आईतवारदेखि आगामी शुक्रवारसम्म अमेरिकाको लसभेगासमा हुने ‘मिसेस वर्ल्ड २०२४’ मा सहभागी हुनु पूर्व आयोजक संस्था रिबन इन्टरटेनमेन्टले शुक्रबार राजधानीको नयाँ वानेश्वरस्थित एक होटलमा पत्रकार सम्मेलन गरी पृथ्वीयालाई सफलताको शुभकामना दिँदै बिदाई गरेको थियो ।
पृथ्वीयाले यस प्रतियोगिताका लागि तयारी पूर्ण रहेको जानकारी दिईन् । ‘त्यहाँ नेपालको भेषभुषा, संस्कृति र नेपाली नारीको पहिचान झल्काउने छु’, पृथ्वीयाले भनिन्, ‘नेपाली महिलाको आत्मविश्वास र स्वभावलाई प्रतियोगितामा प्रस्तुत गर्नेछु।’
उनले विश्वका ५७ देशका विवाहित सुन्दरीको सहभागिता रहने प्रतियोगिताको नेसनल कष्ट्युम राउण्डमा पूर्वी नेपालको किराँत समुदायको संस्कृति झल्काउने ढाकाको पहिरन र गरगहना प्रदर्शन गर्नेछिन् । उनले नेपालको हस्तकलाको सामाग्री, काठको आकर्षक डिजाइनभित्र सजाइएको सगरमाथा अंकित तस्वीरलाई त्यहाँ प्रदर्शन गर्ने पनि बताइन् । पृथ्वीयाको पहिरन फेसन डिजाइनर बनिषा शर्माले तयार पारेकी छन् ।