लिम्बू संस्कृतिको कथामा ‘जारी २ : सङ अफ च्याब्रुङ’

फिल्म । ‘जारी’ को सफलतापछि तयार गरिएको सिक्वेल फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ असोज ३ गते रिलिज हुँदैछ । लिम्बू समुदायको संस्कृति र च्याब्रुङ बाजालाई केन्द्रमा राखेर निर्माण भएको यो फिल्म ‘जारी’ सकिएकै कथालाई निरन्तरता दिदै सुरु हुनेछ । सिक्वेलमा लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले च्याब्रुङको विशेष महत्व देखाएका छन् ।

च्याब्रुङ लिम्बू समुदायको परम्परागत लोक बाजा हो, जुन उधौली-उभौली पर्व, विवाह, भोजभतेर र शुभकार्यमा बजाइन्छ । काठको ढुंग्रोमा गाई वा बाघको छाला मोडेर बनाइने यो बाजा लिम्बू संस्कृतिको सामाजिक आभूषण मानिन्छ । नयाँ घरको अक्वामा पूजा, विवाह समारोह र गुरु पूजामा यो बाजा बजाएर सामूहिक नाच नाचिन्छ ।

च्याब्रुङको धुनमा घोरल, कस्तुरी मृग, परेवा, डाँफे, हात्तीलगायत जंगली जनावरको चालसँग जोडिएका विभिन्न नाचहरू हुन्छन् । निर्देशक सुब्बाले फिल्ममा कथासँगै सङ्गीतको माधुर्यता दर्शकले महसुस गर्ने बताए ।

‘एउटा सरल र भावनात्मक यात्रालाई यसपटक देखाउने कोसिस गरेका छौँ । फिल्मले जारीकै कथा र परिवेशलाई निरन्तरता दिएको छ’, उनले भने । यो फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका छन् । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुस्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बू, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।

कमेन्ट गर्नुहोस्