फिल्म । लोकप्रिय टिकटकस्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना फिल्म ‘कश्यप’मार्फत अभिनेत्रीका रूपमा नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । निर्देशक दिनेश जी खड्काले कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिने उद्देश्यले आभाको प्रतिभा र स्क्रिन टेस्टका आधारमा उनलाई छनोट गरिएको बताए । आभाले फिल्मको एक्सन दृश्यका लागि विशेष प्रशिक्षण लिइरहेकी छिन्, जसले उनको भूमिकालाई थप जीवन्त र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
यसै फिल्ममार्फत बालकलाकार रिद्वी खत्रीले पनि डेब्यु गर्न लागेकी छिन् । अडिसनमा धेरै प्रतिस्पर्धीलाई उछिन्दै रिद्वीले ‘कश्यप’को महत्वपूर्ण भूमिका पाएकी हुन् । उनको अभिनयले फिल्मलाई नयाँ आयाम दिने निर्माण पक्षको विश्वास छ ।
आभाले भनिन्,‘फिल्मको कथा, गीत-संगीत र समग्र पक्षलाई उत्कृष्ट बनाउन निर्माण टोलीले निकै मेहनत गरिरहेको छ । कश्यपले दर्शकलाई मनोरञ्जनसँगै सशक्त सन्देश दिनेछ भन्नेमा म विश्वस्त छु।’
निर्माण पक्षले यसअघि एक्सन हिरो सविन श्रेष्ठ फिचर्ड फर्स्टलुक पोस्टर सार्वजनिक गरिसकेको छ, जसले दर्शकमा उत्सुकता बढाएको छ । एक्सन, प्रेम र संगीतमय प्रस्तुतिसहित ‘कश्यप’ पूर्ण मनोरञ्जनात्मक फिल्म हुने बताइएको छ । फिल्मको छायांकन चाँडै सुरु हुने निर्माण टोलीले जनाएको छ ।










