फिल्म । साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को अग्रिम टिकट बुकिङ देशभरका अधिकांश मल्टिप्लेक्स हलहरूमा खुला गरिएको छ । केही हलमा बुकिङ खुल्ने प्रक्रिया जारी रहेकाले फिल्मले राम्रो संख्यामा शो प्राप्त गरेको छ । फिल्मका प्रचार सामग्रीले दर्शकमाझ सिर्जना गरेको उत्साहलाई मध्यनजर गर्दै मल्टिप्लेक्सदेखि सिंगल स्क्रिन हलहरूले ‘सिटामोल’लाई पर्याप्त शो उपलब्ध गराएका छन् । दर्शकको चाप बढेमा शो थपिने निर्माण टिमको विश्वास छ ।
देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यकामा १५ शो र मोफसलमा १६ शो गरी कुल ३१ शो प्रदान गरेको छ । यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना ४ आउटलेटमा ११ शो, बीग मुभिजले २ शो, एफक्यूब सिनेमाजले ३ शो, बीएसआर मुभिजले २ शो, वान सिनेमाजले ६ शो, सिने डी सेफले ३ शो र कीर्तिपुर सिनेप्लेक्सले २ शो उपलब्ध गराएका छन् । रञ्जना, विश्वज्योति, सिके सिनेमाजलगायत काठमाडौं र मोफसलका धेरै हलहरूमा बुकिङ खुल्ने क्रममा छ ।
निर्माण टिमको अनुमानअनुसार ‘सिटामोल’ले शुक्रबारसम्म करिब १ सय ५० शोका साथ प्रदर्शनमा आउनेछ । फिल्मका पोस्टर, गीत, टिजर र ट्रेलरले प्राप्त सकारात्मक प्रतिक्रियाले बक्स अफिसमा बलियो सुरुवात गर्ने संकेत गरेको छ । राज बहादुर सानेले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली तथा आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।
श्री कृष्ण र जानुकाले यो फिल्ममार्फत नेपाली रजतपटमा डेब्यू गरेका छन्।तुल्सी देवी फिल्म प्रालि र जुनतारा फिल्म्सको सहकार्यमा निर्मित यो फिल्मको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता, अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह-निर्माता छन् । बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई कलर, मुकेश शाहको साउन्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन, विकास तामाङ र धनबहादुर राईको प्रोडक्सन व्यवस्थापन रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् ।










