‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक

फिल्म । नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को मोसन टिजर मंगलबार सार्वजनिक गरिएको छ । टिजर जिल्ला कारागार मोरङ अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्यबाट सुरु हुन्छ । त्यसपछि ती व्यक्तिले टस गरेको सिक्का चक्रको केन्द्रमा पुगेर रोकिन्छ, जहाँ पजल देखिन्छ।पजलमा सुरुमा चक्कु, त्यसपछि पहेँलो बस्त्र लगाएका चार व्यक्ति, आगो र ब्यागबाट उडिरहेका नोट क्रमशः देखिन्छन् ।

टिजरले पैसाका लागि हुने संघर्षलाई संकेत गरेको छ । फिल्म भदौ २७ मा रिलिज हुँदैछ भने हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रिलिज हुने निर्माता विनोद पौडेलले बताएका छन् । फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा प्रस्तुत गर्ने बताइएको छ ।

पोस्टप्रोडक्सनमा रहेको फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौलाको अभिनय छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यो फिल्म सुशान्त गौतमको डेब्यु निर्देशन हो ।

मुकेश खनालको लेखन र मदन थापाको क्रिएटिभ निर्देशन रहेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता छन् भने विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता छन् । जीवन शाक्य लाइन प्रोड्युसर, आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक र शरद महतो डिओपी छन् ।

कमेन्ट गर्नुहोस्