‘चपली हाइट ३’ रिलिज अन्यौलमा

फिल्म । नेपाली फिल्म ‘चपली हाइट ३’ रिलिजमा पुनः अन्यौलता बढेको छ । बारम्बार विभिन्न कारणले डेट सार्न बाध्य फिल्मको डेट यसपटक कोरोना भाइरसको बढ्दो संक्रमणले सर्ने भएको छ । कोभिड व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले आइतबार साँझ अचानक स्कुल बन्द गर्ने र २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गर्न सरकारलाई सिफारिस गरेपछि फिल्म हल पुनः बन्द हुने सम्भावना बढ्दो छ । आउँदो शुक्रबार रिलिज हुने तयारीमा रहेको फिल्म ‘चपली हाइट ३’ सरकारले पाबन्दी लगाउने संकेत देखिएसँगै रिलिज हुने कि नहुने भन्ने दोधारमा छ ।

फिल्म रिलिज गर्ने सन्दर्भमा निर्देशक निकेश खड्काले थप नयाँ निर्णय नआए रिलिज नरोकिने बताए । ‘सीसीएमीको निर्णय मात्र सरकारले सदर गर्ने हो भने हामी फिल्म रिलिज गर्छौं यद्दपी सिडियोहरु मार्फत थप कडाइ भइ हल नै बन्द भए भने हामीसँग सर्नुको विकल्प रहनेछैन ।’ सरकारले माघ ७ देखि सार्वजनिक स्थानमा खोप कार्ड देखाएर मात्र प्रवेश गर्न सकिने बताएको छ । सीसीएमसीले गरेको यो सिफारिस मन्त्री परिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ । फिल्ममा स्वस्तिमा खड्का , महेश त्रिपाठी , आमिर गौतम , सुपुश्पा भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्