फिल्म । निर्देशक चन्द्र पन्तको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा अभिनेत्री सिम्रन पन्त अनुबन्धित भएकी छन् । निर्माण टिमले सोमबार उनलाई अनुबन्ध गरेको हो । यो फिल्ममा सिम्रन अभिनेता पल शाहसँग जोडी बाँधिनेछिन् । उनले यसअघि फिल्म ‘होस्टेल ३’ मा अभिनय गरेकी थिइन्, जहाँ उनको अभिनयले प्रशंसा पाएको थियो ।
‘आ बाट आमा’ उनको दोस्रो फिल्म हो । फिल्ममा अभिनेत्री विपना थापा र तेलुगु, हिन्दी तथा तमिल फिल्मका चर्चित अभिनेता प्रदीप रावत पनि अनुबन्ध भइसकेका छन् । रावतले यसअघि पन्तकै निर्देशनमा बनेको फिल्म ‘ह्रस्वदीर्घ’ मा नीता ढुंगानाको बुबाको भूमिका निर्वाह गरेका थिए । यो फिल्ममा उनी पल शाहको बुबाको चरित्रमा देखिनेछन् ।
निर्देशक पन्तले ‘माई’ र ‘ह्रस्वदीर्घ’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । ‘ह्रस्वदीर्घ’ मार्फत विपना थापाले १६ वर्षपछि नेपाली फिल्ममा पुनरागमन गरेकी थिइन् र अब उनी पुनः पन्तको निर्देशनमा काम गर्न लागेकी छन् ।
आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने यो फिल्म भदौबाट छायांकनमा जाने तयारीमा छ । निर्माता टिमले बाँकी कलाकार र प्राविधिक टोली छिट्टै टुंगो लगाउने जनाएको छ । फिल्मको थिम पोस्टर एक महिनाअघि सार्वजनिक भइसकेको छ, र निर्देशक पन्तका अनुसार यो फिल्म आगामी फागुन १५ मा प्रदर्शनमा आउनेछ ।












