‘जहाजैमा’ मा वर्षा

फिल्म । निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘जहाजैमा’ मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । निर्माण टिमले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो । अनुबन्धपश्चात् सिवाकोटीले फिल्मको कथा र टिम मन परेको कारण काम गर्न सहमति जनाउँदै उत्कृष्ट टिमसँग काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

यसअघि फिल्ममा केदार घिमिरे ‘माग्ने बुढा’, सौगात मल्ल, कार्म कर्मा शाक्य र जापानी अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भइसकेका छन् । अन्य कलाकारको छनोट अन्तिम चरणमा रहेको निर्माण पक्षले जानकारी दिएको छ।

फिल्मको कथा अभिमन्यू निरवीले लेखेका हुन् भने छायांकन निर्देशन (डीओपी) पुरुषोत्तम प्रधानले सम्हाल्नेछन् । उज्ज्वल गुरागाईंको निर्माण रहने यो फिल्म यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण गरिनेछ ।

केपी फिल्म्सको सहकार्यमा बन्ने यो फिल्मको छायांकन आउँदो भदौ महिनाबाट जापानमा सुरु गरिनेछ । नेपाल, जापान र फिलिपिन्समा छायांकन हुने फिल्मको प्रि-प्रोडक्सन तीव्र गतिमा भइरहेको छ ।

निर्माण पक्षले छायांकन सुरु हुन दुई महिनाअघि नै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। आर.आर फिल्म्ससँग सहकार्य गर्दै आउँदो फागुन १ गतेदेखि फिल्म देशभर प्रदर्शनमा ल्याइनेछ। फिल्मको वितरण आर.आर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले गर्नेछन्।

कमेन्ट गर्नुहोस्