फिल्म । भारतीय फिल्म ‘बोर्डर २’ को मुख्य भूमिकामा रहेका अभिनेता सनी देओलले आफ्नो छायांकन पूरा गरेका छन् । निर्माण पक्षले केही समयअघि मात्रै फिल्मको छायांकन सुरु भएको घोषणा गरेको थियो । सन् १९९७ मा रिलिज भएको सुपरहिट फिल्म ‘बोर्डर’ को कथालाई निरन्तरता दिँदै यो फिल्म बनिरहेको छ, जसमा पनि सैनिकको कथा देखाइनेछ ।
अघिल्लो फिल्ममा जस्तै यसपटक पनि सनी देओलले एक सैनिकको दमदार भूमिका निभाउँदैछन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा फिल्मको छायांकन सकिएको जानकारी दिँदै आफ्नो लुक सार्वजनिक गरेका छन् ।
यस पोस्टमा एक संवाद पनि राखिएको छ, जसमा सनी देओलको आवाज सुनिन्छ । अभिनेता आहान शेट्टीले पनि फिल्मको छायांकनसँग सम्बन्धित केही तस्बिर सेयर गर्दै पुणेमा आफ्नो भागको सुटिङ सकिएको बताएका छन् । यी तस्बिरहरूमा उनीसँगै दिलजीत दोसांझ र वरुण धवन पनि देखिएका छन्। सबै कलाकारहरू छायांकन सकिएपछि खुशी देखिएका छन् ।
‘बोर्डर २’ को निर्देशन जे.पी. दत्तले गरिरहेका छन्, जसले सन् १९९७ को सुपरहिट फिल्म ‘बोर्डर’ को पनि निर्देशन गरेका थिए । सनी देओलको पोस्टबाट नै उनको यसपटकको भूमिका कति महत्वपूर्ण हुनेछ भन्ने स्पष्ट हुन्छ ।












