‘बाहुबली ३’ को सम्भावना बारे के भन्छन् प्रभास ?

फिल्म । भारतीय फिल्मको ऐतिहासिक फ्रेन्चाइजी ‘बाहुबली’ ले रिलिजको दस वर्ष पूरा गर्दै गर्दा अभिनेता प्रभासले तेस्रो भागको सम्भावनाबारे चासो जगाउने खुलासा गरेका छन् । ‘बाहुबली: द बिगिनिङ’ र ‘बाहुबली: द कन्क्लुजन’ ले भारतीय फिल्म उद्योगको स्तरलाई विश्वमाझ उभ्याएको थियो ।

भारतीय मिडिया पिंकभिल्लाका अनुसार, राजीव मसन्दसँगको एक अन्तर्वार्तामा प्रभासले निर्देशक एस.एस. राजामौलीसँग ‘बाहुबली ३’ को कथा पहिल्यै तयार रहेको संकेत दिए । उनले भने, ‘राजामौली सरले मलाई ६ स्क्रिप्ट दिएका थिए, तर उनले १० देखि १४ स्क्रिप्ट बनाएका होलान् । हामीले बाहुबली १ र २ मा कथाको ६० प्रतिशत मात्र प्रस्तुत गरेका छौँ ।’

चार वर्षभन्दा बढी समय ‘बाहुबली’ सँग जोडिएका प्रभासले यो प्रोजेक्टलाई आफ्नो जीवनको अविस्मरणीय अनुभवको रूपमा उल्लेख गरे । उनको यो खुलासाले दर्शकमा ‘बाहुबली ३’ को सम्भावनाप्रति उत्सुकता बढाएको छ । यसैबीच, निर्देशक राजामौली हाल अर्को महत्त्वाकांक्षी प्रोजेक्टमा व्यस्त छन् ।

यो फिल्ममा महेश बाबु, प्रियंका चोपडा जोनास, पृथ्वीराज सुकुमारन र आर. माधवन मुख्य भूमिकामा छन् । राजामौलीले यो प्रोजेक्टलाई पनि ‘बाहुबली’ कै भव्यतामा निर्माण गरिरहेका छन् र हाल गोप्य रूपमा छायांकन भइरहेको छ । ‘बाहुबली ३’ को औपचारिक घोषणा र निर्माणको पर्खाइमा रहेका फ्यानहरू प्रभासको यो खुलासाले उत्साहित बनेका छन् ।

कमेन्ट गर्नुहोस्