फिल्म । टङ्क बुढाथोकीको लेखन, निर्देशन र सङ्गीत रहेको फिल्म ‘मन बिनाको धन’ को छायाङ्कन सकिएको छ । गायक अशोक दर्जीको मुख्य अभिनय रहेको यो फिल्मको अन्तिम दृश्य काठमाडौँको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा कन्सर्टको दृश्य खिच्दै सम्पन्न गरिएको छ । मुस्ताङ, काठमाडौँ र पोखरामा २८ दिनसम्म छायाङ्कन भएको यो फिल्म तिहारको समयमा प्रदर्शन गर्ने तयारी छ, यद्यपि मिति तय भएको छैन । सामाजिक विषयवस्तुमा आधारित यो फिल्मको पटकथा र संवाद शिवम अधिकारीले लेखेका छन् ।
यसमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, निता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, ए.आर. बुढाथोकी, शङ्कर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झा, विनय अधिकारी, आर्यन नेपाल र विजय डङ्गोलको अभिनय छ ।
यसको निर्माता विष्णुमाया मैनाली हुन् भने सपना शर्मा कार्यकारी निर्माता छिन् । जी.पी. सङ्ग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माता छन् । सौरभ लामा र नवराज उप्रेतीको छायाङ्कन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी. गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ ।
अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मार्फत ख्याति कमाएका थिए, जसमा टङ्क बुढाथोकीको सङ्गीत छ । हाल काठमाडौँमा कक्षा ९ मा अध्ययनरत दर्जीको यो पहिलो फिल्म हो ।












