फिल्म । प्रदर्शनको ५१ औँ दिन पुरा गरेको फिल्म ‘पिताम्बर’ दोस्रो भाग निर्माण हुने भएको छ । गत वर्ष विसं २०८१ चैत २९ गतेदेखि प्रदर्शनरत फिल्मको ५१ औँ दिन पुरा भएको अवसर निर्माण पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक कृषा चौलागाईंले दोस्रो भाग ल्याउने घोषणा गरेकी हुन् ।
‘महिला निर्देशक भएर द्वन्द्व विधामा फिल्म निर्माण गरेर यो सफलता पाउनुमा मेरो सम्पूर्ण टिमको सहयोग अपरिहार्य रह्यो । यो फिल्मको सफलताले मलाई राम्रो फिल्म निर्माण गर्ने दायित्व थपिएको बोध भएको छ । आगामी दिनमा पनि दर्शक माँझ स्तरीय फिल्म ल्याउने हाम्रो प्रयास रहनेछ’, निर्देशक चौलागाईंले भनिन् ।
आयोजित पत्रकार सम्मेलनमा यसका निर्माता विशाल चौलागाईं, अभिनेता अनुप विक्रम शाही, दिव्य देव, प्रमोद अग्रहरी, सह – निर्माता तथा छायांकन निर्देशक पुरुषोत्तम प्रधान लगायत सहभागी थिए । उक्त फिल्मले काठमाडौँस्थित न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स र कमलपोखरीमा रहेको बीग मुभिजमा प्रदर्शनको ५१ औँ दिन पुरा गर्न सफल भएको हो । फिल्मलेले हालसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको ‘सेन्ट्रल म्यानेज्मेन्ट टिकट सिस्टम’ (बक्सअफिस)मा रु चार करोड ५६ लाख (ग्रस) व्यापार गरेको तथ्याङ्क छ ।
फिल्ममा अभिनेता सौगात मल्ल, दयाहाङ राई, रवीन्द्र झा, प्रदीप खड्का, विशाल पहाडी, सुरक्षा पन्त, दिव्या रायमाझी, सुपुष्पा भट्ट लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।












