‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को गीत ‘आमा’ सार्वजनिक

फिल्म । आउँदो भदौमा प्रदर्शन हुने फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को भावनात्मक गीत ‘आमा’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द, संगीत र स्वरमा रहेको यो गीतमा मनिषा सुनारको पनि स्वर छ । गीतको लयमा उतारचढाव र भेरिएसनले यसलाई गहकिलो र फरक बनाएको छ ।

गीतले फिल्मको कथालाई प्रतिबिम्बित गर्दछ, जसमा मुख्य पात्रले घर छोडेर काठमाडौँमा गरेको सङ्घर्ष र भोगेका कठिनाइहरू समेटिएका छन् । गीतमा आमालाई सुख दिने सपना बोकेर काठमाडौँ आएको छोराले शहरको कठोर यथार्थ, हन्डर र ठक्करको सामना गर्दा बाँचेर घर फर्कने आशङ्का व्यक्त गरिएको छ । बिरामी आमाको आयु बढाउन कालसँग गरेको बिन्ती र काठमाडौँको यथार्थ चित्रणले गीतलाई भावुक बनाएको छ ।

एसोसियट निर्देशक मनिष राउतका अनुसार यो गीत सम्पूर्ण आमा र सहरमा आफ्नो सपना पूरा गर्न सङ्घर्षरत छोरा-छोरीलाई समर्पित छ । गीतको भिडियोमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनाली, कविता आलेलगायतका कलाकारको अभिनय छ । निर्देशक हिमाल न्यौपानेले यो फिल्मले आमा र छोराको भावनात्मक कथालाई बोल्ने बताउनुभयो, जुन यो गीतले प्रष्ट्याएको छ। भदौ ६ मा रिलिज हुने यो फिल्म काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा छायाङ्कन भएको छ। हाल पोस्टप्रोडक्सनमा रहेको फिल्ममा विजय बराललाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिइएको छ ।

पेपरक्लिपको ब्यानरमा बनेको यो फिल्मका निर्माता कमल र विमल न्यौपाने छन्। सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी छन् । फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटासहित रियर राई, कविता आले, तारा शर्मा, भावना खपांगी मगरलगायतको अभिनय छ ।

सङ्गीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीले योगदान दिएका छन् । भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहेको फिल्मको छायाङ्कन नवीन गुरुङ र कृष्ण परियारले गरेका छन् ।

कमेन्ट गर्नुहोस्