फिल्म । आर्टमाण्डू नेपालको ब्यानरमा बनेको फिल्म ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । यो फिल्मले देशभर १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ । सरकारको आधिकारिक बक्सअफिसमा फिल्मले आज (चौंथो शुक्रबार) मध्यान्ह १२ बजेसम्म देशब्यापी ८ करोड ९० लाख ५० हजार १८० रुपैयाँ ग्रस कमाइ गरेको छ ।
नवीन चौहानको लेखन र निर्देशनमा बनेको यो फिल्मले रिलिजको पहिलो दिनदेखि नै सकारात्मक प्रतिक्रिया र हाउसफुल शोका साथ दर्शकको मन जितेको छ । कथावस्तु, संवाद, अभिनय र निर्देशनको प्रशंसाले फिल्मको यो यात्रा थप बलियो बनेको हो ।
फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय छ । समीक्षक र दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले फिल्मको लोकप्रियता थप पुष्टि गरेको छ ।
विदेशी बजारमा पनि फिल्मले राम्रो प्रदर्शन गरिरहेको छ, यद्यपि ओभरसिज कलेक्सनको विवरण सार्वजनिक भएको छैन । देशको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले यो फिल्मलाई व्यावसायिक आधारमा ‘सुपरहिट’को ट्याग दिएको छ । साथै, यो फिल्म वि.सं. २०८२ को पहिलो सुपरहिट फिल्म बनेको छ ।












