ऋतिक रोशनसँग ‘केजीएफ’ निर्माताले फिल्म बनाउने

फिल्म । बलिउड अभिनेता ऋतिक रोशन यतिबेला आफ्नो आगामी फिल्म ‘वार २’ का साथै होम्बाले फिल्म्ससँगको नयाँ प्रोजेक्टलाई लिएर चर्चामा छन् । होम्बाले फिल्म्सले ऋतिकसँग नयाँ फिल्मको घोषणा गरेको छ, यद्यपि प्रोजेक्टको कथावस्तु र ऋतिकको भूमिकाबारे कुनै जानकारी खुलाइएको छैन ।

उक्त कम्पनिका सञ्चालक विजय किरागान्दुरले भने,‘हामी ऋतिक रोशनसँगको यो सहकार्यबाट उत्साहित छौं । होम्बाले फिल्म्सको लक्ष्य सधैं प्रेरणादायी र व्यापक दर्शकलाई जोड्ने कथा पस्कनु हो । ऋतिकसँगको यो प्रोजेक्ट हाम्रो उद्देश्यतर्फको महत्वपूर्ण कदम हो । हामी बलियो कथा र कल्पनाशील प्रस्तुति भएको, मन छुने र स्मरणीय फिल्म बनाउन प्रयासरत छौं ।’

ऋतिकले जवाफमा भने,‘होम्बाले फिल्म्सले अहिलेसम्म फरक र रोचक कथाहरू प्रस्तुत गरेको छ । उनीहरूसँग सहकार्य गर्न पाउँदा म निकै खुसी छु । हामी मिलेर दर्शकका लागि उत्कृष्ट फिल्म ल्याउने प्रयास गर्नेछौं । हाम्रो सपना ठूलो छ, र त्यसलाई साकार पार्न हामी कटिबद्ध छौं ।’

‘केजीएफ १’, ‘केजीएफ २’, ‘सालार: पार्ट १’ र ‘कान्तारा’ जस्ता ब्लकबस्टर फिल्म बनाएको होम्बाले फिल्म्सको यो नयाँ प्रोजेक्टले फ्यानहरूमा ठूलो अपेक्षा जगाएको छ । यसैबीच, ऋतिक साउथ सुपरस्टार जुनियर एनटीआरसँग ‘वार २’ मा देखिनेछन्, जसमा कियारा आडवाणी पनि मुख्य भूमिकामा छिन् । साथै, उनको अर्को फिल्म ‘क्रिस ४’ को चर्चा पनि चलिरहेको छ । यी प्रोजेक्टहरूले ऋतिकको व्यस्तता र लोकप्रियतालाई थप उजागर गरेको छ ।

कमेन्ट गर्नुहोस्