फिल्म । ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ मा सहभागी हुन अभिनेता सौगात मल्ल, अनुप बिक्रम शाही, निर्देशक कृषा चौलागाईं र अभिनेता सलोन बस्नेतसहितको टोली जापान प्रस्थान गरेको छ । उनीहरू मे २५ मा आयोजना हुने उक्त फेस्टिभलमा सहभागी हुनेछन् । जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टको पहलमा आयोजित यो फेस्टिभलमा नेपाली फिल्म ‘पिताम्बर’ले महत्त्वपूर्ण स्थान पाएको छ ।
‘पिताम्बर’बाट सौगात मल्ल बेस्ट एक्टर, अनुप बिक्रम शाही ब्रेक थ्रु परफर्मर र कृषा चौलागाईं बेस्ट निर्देशक विधामा नोमिनेट भएका छन् । यस्तै, फिल्म ‘रंगी’बाट सलोन बस्नेत बेस्ट एक्टर विधामा नोमिनेट भएका छन् । जापान प्रस्थान गर्नुअघि सौगात मल्लले यो अवार्ड कार्यक्रममा सहभागी हुन पाउँदा उत्साहित भएको बताए। निर्देशक कृषा चौलागाईंले ‘पिताम्बर’को सफलताले आफूलाई थप हौसला प्रदान गरेको बताइन्। उनले यसअघि ‘ऐँचोपैँचो’ निर्देशन गरेकी थिइन्, जुन समीक्षक र दर्शकमाझ सफल भएको थियो। ‘पिताम्बर’को एक्सन जनराको नवीन प्रस्तुतिका लागि उनको निर्देशकीय क्षमताको प्रशंसा भइरहेको छ। हाल यो फिल्म हलहरूमा सफलतापूर्वक चलिरहेको छ।
युना इन्टरटेन्मेन्टका प्रमुख उज्ज्वल गुरागाईंले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने उद्देश्यले यो फेस्टिभलमा सहभागिता जनाइएको बताए । पुरस्कार वितरण समारोह मे २५, २०२५ मा जापानको नागोयास्थित मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन (मुख्य थिएटर आओइ) मा साँझ ५ बजे आयोजना हुनेछ।










