फिल्म । नेपाली फिल्म ‘के घर के डेरा : घर नं २’ को नयाँ गीत ‘ढुंगा देउता भयो’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले फिल्म रिलिज हुनुभन्दा केही घण्टा अगाडि बिहीबार यो विम्बात्मक गीत दर्शकमाझ ल्याएको हो ।
गीतमा चर्चित साहित्यकार बुद्धिसागरको शब्दरचना रहेको छ भने सङ्गीत अभिनेता तथा निर्देशक निश्चल बस्नेतले भरेका छन् । सलिन मगरको स्वरमा सजिएको यो गीतले फिल्मको कथावस्तुलाई शान्त तर अर्थपूर्ण ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ । गीतले संघर्ष र चोटहरूले नै व्यक्तिलाई बलियो बनाउने सन्देश दिन ढुंगा र देउताको बिम्ब प्रयोग गरेको छ । सपना नै जिन्दगी जिउने आधार बन्ने यथार्थलाई पनि गीतले काव्यात्मक शैलीमा उजागर गरेको छ ।
गीतको भिडियोमा मुख्य कलाकारहरू केकी अधिकारी, निश्चल बस्नेत, खगेन्द्र लामिछाने र स्वयं लेखक बुद्धिसागरलाई देख्न सकिन्छ । साहित्यकार बुद्धिसागरको पहिलो पटकथा लेखन रहेको ‘के घर के डेरा : घर नं २’ लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । यो फिल्म भोलि, अर्थात् जेठ २ गते शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ ।
यसमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ । एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्माताहरूमा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।










