फिल्म । पछिल्लो समय भारत र पाकिस्तानबीचको तनावले फिल्म क्षेत्रलाई समेत प्रभावित पारेको छ । खासगरी पाकिस्तानी अभिनेत्री मावरा होकनेको विवादास्पद अभिव्यक्तिपछि बलिउडमा तीव्र प्रतिक्रिया देखिएको छ । अब भारतीय म्युजिक स्ट्रिमिङ प्लेटफर्महरूले ‘सनम तेरी कसम’ फिल्मको पोस्टरबाट मावरा होकनेको अनुहार हटाएका छन् ।
‘सनम तेरी कसम’ मा मुख्य भूमिकामा देखिएकी मावरा होकनेले हालै भारतविरुद्ध दिएको अभिव्यक्ति सोशल मिडियामा आलोचित भएको थियो । फिल्मका अभिनेता तथा निर्माता हर्षवर्धन राणेले मावराको अभिव्यक्तिलाई ‘अशोभनीय र प्रचारमुखी’ भन्दै तीव्र प्रतिक्रिया दिएका थिए ।
मे ७ मा भारतीय सेनाले पहलगाम हमलाको जवाफस्वरूप पाकिस्तान र पीओकेमा हवाई हमला गरेपछि, पाकिस्तानी कलाकारहरूले भारतविरुद्ध सामाजिक सञ्जालमा धारिलो टिप्पणी गर्न थाले । त्यही क्रममा मावरा होकनेले दिएको विवादास्पद अभिव्यक्तिको असर स्वरूप, भारतका प्रमुख म्युजिक एपहरू जियो सावन, स्पोटिफाइ, युट्युब म्युजिक लगायतले फिल्मका पोस्टरबाट उनको अनुहार हटाएका छन् । अब तपाईं यी एपमा ‘सनम तेरी कसम’ का गीतहरू हेर्दा, मावरा होइन, केवल हर्षवर्धन मात्र देखिन्छन्।











