फिल्म । आगामी जेठ १५ गते (बिहीबार)देखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘महाभोज’ सहकारी ठगी पीडित सर्वसाधारणको कथामा आधारित रहेको बताइएको छ । उक्त फिल्मका अभिनेता दयाहाङ राईका अनुसार ‘महाभोज’ केवल एउटा कथानक फिल्म मात्र होइन, यो सहकारीको नाममा भइरहेको आर्थिक शोषणमाथिको गम्भीर प्रश्न पनि हो ।
‘नेपालमा आर्थिक क्रान्तिको सुन्दर अभ्यासका रूपमा सहकारी संस्थाहरूको सुरुवात भएको थियो । तर, आज ती संस्थामार्फत सर्वसाधारण ठगिने क्रम जारी छ । ‘महाभोज’ ले त्यसको यथार्थ उजागर गर्छ’, अभिनेता राईले भने ।
यसको कथा सहकारी संस्थाका नाममा आम जनताबाट उठाइएको रकमको दुरुपयोग, त्यसबाट जन्मिएको वर्ग संघर्ष, र त्यसले ल्याउने सामाजिक तथा पारिवारिक संकट वरिपरि केन्द्रित छ । ‘यो फिल्म कुनै विशिष्ट वर्गको मात्रै होइन, हरेक नेपालीको कथा हो । म प्रतिशतमा कुरा गर्दिन, तर यो सबै नेपालीको पीडा व्यक्त गर्ने फिल्म बनेको छ’, अभिनेता राईले भने ।
‘महाभोज’ लाई दिनेश राउत ले निर्देशन गरेका हुन् भने हिमाल कडरिया निर्माता हुन् । कथा तथा पटकथा सुवेदीले लेखेका छन् । फिल्म क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा निर्माण भएको हो ।
यसमा अभिनेता राईसँगै आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल र वीरेन्द्र सिंह कुशवाह जस्ता कलाकारको अभिनय समावेश छ ।












